मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

जलहरी प्रकरणमा शेखरले भनेः कस्तो विडम्बना ! अनियमितता कति दिन ढाक्न सकिएला र ?

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलहरी प्रकरणमा सांसदले उठाएको अभिव्यक्ति हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुन भनेर पित्तल लगाएको  लगाएको आरोप लगाएका थिए । संसद्को रेकर्डबाट उनको अभिव्यक्ति हटाउने शीर्ष नेताहरूको सहमतिमा उनले असन्तुष्टि जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोही अनुरूप कार्य गर्ने ।’

उनले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र ? भन्दै प्रश्न गरेका छन्।

‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो रु उनको प्रश्न छ।
संसद्को रेकर्डबाट नेताका सहमतिमा केही कुरा हटे पनि देशका आम जनता, नागरिक समाज तथा सञ्चार जगत् पनि छन् भन्ने बुझ्न भनेका छन्।