दुई केवलकार कम्पनीले उठाउलान् बुटवललाई ?

बुटवल - आर्थिक मन्दीदेखि प्रदेश राजधानी स्थानान्तरणपछि पश्चिम क्षेत्रकै चलायमान शहर बुटवल सुस्ताएको छ । यहाँका मुख्य बजारमा सटरहरू खाली भएको सूचना टाँसिएको छ ।
खासगरी बुटवलकै मुटु मानिने अमरपथ, ट्राफिकचोक लगायतका स्थानमा सटरहरू बन्द भएका छन् । ट्राफिक व्यवस्थापनको समेत समस्या भएको भनिएको सो क्षेत्रको आर्थिक करोबार निकै सुस्ताएको छ । बुटवल बजार फेरि पहिलेकै अवस्थामा उठ्नेमा स्वयं व्यवसायीहरू नै आंशका गर्दछन् ।
निकै पुरानो र चलायमान बुटवललाई आर्थिक कारोबारका हिसाबले चलायमान बनाउन एउटा अवसर फेरि आएको छ । त्यो हो पर्यटकीय संरचना निर्माण । बुटवलका दुई शिरका रुपमा रहेका वसन्तपुर र नुवाकोटका चुरे पहाडहरूमा बुटवलबाट केवलकार संचालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । केवलकारको माध्यमबाट फेरि एक पटक बुटवल उठ्न सक्ने तर्क गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजू बुटवलका लागि एउटा अवसर आएको तर्क गर्दछन् ।
उनले भने–‘चरम आर्थिक मन्दीको अवस्थामा पनि ठूलो लगानीमा दुईवटा केवलकार बुटवलको शिरमा सञ्चालन हुनु बुटवलका लागि अवसर हो । यसका माध्यमबाट हुने पर्यटकीय चहलपहलले फेरि बुटवलको आर्थिक गतिविधि उठ्न सक्ने छ ।’
दुई केवलकार एकै पटक तयार
लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजनासहित आफ्नो परियोजना अन्तिम चरणमा पुर्याएका छन् ।
बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केवलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ । यो केवलकार व्यवसायी चन्द्र ढकाललगायतको समूहको हो । बुटवल र पाल्पा तर्फका स्टेसन निर्माणको काम सम्पन्न भएर केही दिनमै यो केवलकार सञ्चालनको तयारीमा छ ।
लुम्बिनी केवलकारको लागि साढे तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ । लुम्बिनी केबुलकारमा २५ वटा गोन्डुला हुनेछन् । प्रति गोन्डुला आठ जना यात्रु सवार गर्न सक्नेछन् । जसमा प्रतिघण्टा ६ सय जना यात्रु ओहोरदोहोर गर्न सक्ने कम्पनीको दाबी छ । तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबुलकारले बुटवल–३ को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरी डाँडा न्याउली सामुदायिक वनसमेतको ३ दशमलव ११ हेक्टर गरी ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ ।
यहाँ पाँचतारे होटेल र पार्कसहितका संरचनामा पनि लगानी हुँदैछ । वसन्तपुर डाँडामा १ सय ५० कोठाको पाँचतारे स्तरको होटेल बन्ने योजनामा छ । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने दाबी कम्पनीको रहेको छ । केबुलकार प्रालिका व्यवस्थापक गोकुल साउदले यही जेठ १५ गतेदेखि नै नियमित सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए । यो केबुलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । भने उद्घाटन केहि दिन भित्रै गर्ने गरि तयारी भैरहेको छ ।
त्यसको केही हप्तापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको सिद्धार्थ केबुलकारको काम पनि धमाधम भइरहेको छ । बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबुलकार पाल्पाको नुवाकोट पुग्नेछ । जसको स्टेसन निर्माणको काम अन्तिम चरणमा छ । करिब ९० प्रतिशत काम पूरा भएको सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए । उनले यो केबुलकार केही दिनभित्रै सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीव्र पारिएको बताए ।
यहाँ पनि झन्डै १ अर्बको लगानी छ । अहिले नुवाकोटमा सुविधा सम्पन्न रिसोर्ट पनि निमार्ण भैरहेको छ । त्यस्तै चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र,शान्ति पार्क, गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरू बनिरहेका छन् । शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा ८ मिनेटमा पुग्न सकिने १ दशमलव ९४ किलोमिटर लम्बाइको केबुलकारमा एउटा गोन्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष गुरुङले बताए । नियमित रूपमा केबुलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको दाबी छ ।
अर्बौं लगानीमा केवलकार बन्दा व्यवसायी उत्साहित
बुटवलमा दुईबाट केवलकार एकैपटक सञ्चालन हुने अवस्थामा पुगेपछि यहाँका व्यवसायीहरू उत्साहित छन् । खास गरी पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ । भैरहवामा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूल्ठूला होटेलमा लगानी गरेका यहाँका व्यवसायीले यी दुई केवलकारले यस क्षेत्रमा अर्थतन्त्र चलायमान हुने भन्दै हौसिएका छन् ।
बुटवलमा बन्दै गरेका दुई केवलकारले बुटवलको नयाँ पहिचानसहित बजार चल्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष कसजूले दावी गरे । त्यस्तै होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बुटवल क्षेत्र केवलकारका हिसाबले पनि चलायमान हुने दावी गर्दछन् । केवलकारबाट भारत तथा नेपाल दुवै देशमा पर्यटकहरू आउने भएपछि यहाँको पर्यटन क्षेत्रसँग सिङ्गो बजारमा नै चहलपहल हुने उनको तर्क छ ।
के का लागि बुटवल आउने छन् पर्यटक ?
बुटवलको शिर पाल्पाको बसन्तपुर हो । जहाँ केवलकारको टप स्टेसन निर्माण गरिएको छ । जहाँ कलात्मक कामाख्या देवीको मन्दिर छ । भारतको गुवाहाटीमा रहको कामाख्या मन्दिरकै शैली र कलामा बसन्तपुरमा पनि कामाख्या मन्दिर निर्माण गरिएको हो । जुन मन्दिरमा दर्शनका लागि नेपालवाट मात्रै हजारौं भक्तजान त्यहाँ जाने गरेका छन् । कामाख्या मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरू किशोर गौतमले बताए । बसन्तपुरमा कामाख्यादेवीको मन्दिरसहित भगवती र गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरू निर्माण भइरहेका छन् । त्यस्तै, क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट निर्माणको काम पनि भइरहेको कम्पनीले जनाएको छ ।
नेपालका मात्र नभई बुटवलदेखि नजिकै रहेको भारतको गोरखपुर, लखनउ लगायतका सहरबाट समेत भारतीय पर्यटकहरूलाई आकर्षित गर्न सकिने भन्दै केबुलकारमा लगानी गरिएको प्रालिले जनाएको छ ।
समुद्री सतहबाट नौ सय ४० मिटरको उचाइमा रहेको बसन्तपुरको तापक्रम बुटवलको भन्दा चार पाँच डिग्रीसम्म कम हुने भएकोले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि पर्यटक लैजान सकिने प्रालिले जनाएको छ ।
त्यसैगरी नुवाकोट पनि बुटवलको अर्को शिर हो । जहाँ पनि केवलकार निर्माण अन्तिम चरणमा छ । नुवाकोटमा पनि अत्याधुनिक रिसोर्टदेखि चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, शान्ति पार्क, गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचना बनिरहेका छन् ।
त्यसैगरी नाट्य डवली निर्माण सम्पन्नको अवस्थामा छ । भारतको गोरखपुर सम्मको दृश्य देख्न सकिने भ्यूटावर निर्माण हुने भएकाले पनि त्यहाँ पर्यटकहरूको आकर्षण बढ्ने दावी कम्पनीको छ । त्यसैगरि शीतलताको खोजीका लागि पनि अग्लो चुरे पहाडमा नेपाल र भारतका पर्यटकहरू पुग्ने अपेक्षा गरिएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया