कोशीमा नयाँ सरकारबारे अन्योलमा गठबन्धन , केन्द्रको निर्णय कुर्दै माओवादी र कांग्रेस

काठमाडौँ– केन्द्रको गठबन्धनअनुसार छवटै प्रदेश सरकार गठन भए पनि कोशी प्रदेशमा भने पुरानै सरकारले निरन्तरता पाइरहेको छ । तर, नयाँ सरकार निर्माणका लागि दलहरू भने केन्द्रको निर्णय पर्खेर बसिरहेका छन् ।
बुधबार कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि कोशी प्रदेशको राजनीतिक माहोल के हुन्छ भन्ने अन्योल भएको छ ।
एमालेको नेतृत्वमा बनेको सरकारमा माओवादी, राप्रपा र जसपा सरकारमा समावेश थियो । तर, जसपाबाट स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएपछि अहिले सरकारमा तीन दलको सहभागिता छ । माओवादीलाई पनि सरकारको समर्थन फिर्ता लिन सत्ता पक्षीय दल कांग्रेस दबाब छ ।
सरकारबाट जसपा बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णयसँगै मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ । कार्कीले विश्वासको मत लिँदा माओवादीले समर्थन गर्छ/गर्दैन भन्ने सबैका लागि उत्सुकताको विषय बनेको छ ।
माओवादीले भने तत्काल केही निर्णय गरेको छैन । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले तत्काल माओवादीले केही निर्णय नगर्ने उनले बताए । पार्टीको माथिल्लो तहले यसबारे निर्णय गरेपछि मात्रै प्रदेश कमिटीले निर्णय गर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री भारत भ्रमणमा हुनुहुन्छ,’ माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले भने, ‘उहाँ फर्किएपछि हामी आवश्यक परामर्श लिएर निर्णय गर्छौँ । कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा निरन्तर छलफल भइरहेकै थियो । धेरै दबाबका कारण जसपाले सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको छ । हामी सल्लाह गरेर अगाडि बढ्छौँ ।’ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएर औपचारिक निर्णय लिइने उनले बताए ।
नयाँ गठबन्धनका लागि राप्रपासँग पनि छलफल भइरहेको उनको भनाइ छ । सरकार बन्ने धेरै विकल्प खुला रहेकाले तत्काल प्रदेश सभा विघटनमा जाने सम्भावना नरहेको उनले प्रष्ट पारे । ‘बहुमतको सरकार बन्ने धेरै वटा विकल्प छन्,’ उनले भने, ‘कांग्रेस र एमाले मिल्दा पनि बहुमतको सरकार बन्छ । एमाले र माओवादी मिल्दा वा एमाले बाहेकका अन्य एक ठाउँमा आउँदा पनि बहुमतका सरकार बन्छ । त्यसैले यो सम्भावना भन्दा बाहिर सरकार जाँदैन ।’
कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पनि कोशी प्रदेशको सरकार गठन प्रक्रियाबारे केन्द्रबाटै निर्णय हुने बताए । ‘नयाँ गठबन्धन कसरी अगाडि कसरी अगाडि बढ्छ भन्ने विषयमा छलफल भएको छैन,’ उनले भने, ‘हामीले यहाँ तलबाट छलफल गरेर केही पनि हुने होइन । यो शीर्ष नेताबाटै निर्णय टुंगो लाग्ने कुरा हो ।’ नयाँ सरकार गठनको विषय केही दिनमै टुंग्गिने उनले बताए ।
वर्तमान कार्की नेतृत्वको वर्तमान सरकारमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसदको समर्थनमा बनेको थियो । तर, जसपाले सरकारको समर्थन फिर्ता लिएपछि अहिले ५९ सांसदको समर्थन भएको देखिन्छ । सरकारलाई समर्थन गरेको दलले फिर्ता लिएपछि उसले विश्वासको मत लिनुपर्ने बाध्यता छ । तर, माओवादीले एमालेलाई विश्वासको मत नदिए नयाँ सरकार गठनको प्रक्रियामा जान्छ ।
यदि नयाँ सरकार गठनमा राप्रपाले सहयोग गरेन भने वर्तमान सत्ता गठबन्धनको सरकारका बनाउन सम्भव देखिँदैन । किनकि ९३ सदस्यीय कोशी प्रदेशमा सरकार बनाउनका ४७ सांसदको आवश्यक पर्छ । वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरूको मत जोड्दा बहुमत भने नपुग्ने देखिएको छ ।
कोशी प्रदेश सभामा सत्ता गठबन्धनका दल कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४ र जसपाको एक सिट जोड्दा ४७ पुग्छ । तर, गठबन्धनको दल माओवादीबाट एक सांसद सभामुख बनेकाले उनले समर्थन गर्न पाउँदैनन् । जसले गर्दा सत्ता गठबन्धनलाई पनि राप्रपाको साथ अनिवार्य छ । यो अंकगणितले कोशी प्रदेशमा सरकार बनाउने खेल फेरि एकपटक रोचक बनेको छ ।
यता एमालेको पनि हालत उही छ । एमालेसँग राप्रप्रासहितको संख्या जोड्दा ४६ मात्रै हुन्छ । एमालेलाई चाहिने थप एक मत जसपासँग छ । तर, जसपा भर्खरै सरकारबाट निस्किएको छ । त्यसैले उसले फेरि समर्थन गर्ने कुनै सम्भावना देखिँदैन । राप्रपाले साथ नदिएसम्म अर्को सरकार नबन्ने भएकाले एमाले भने चुपचाप सरकार चलाइरहेको छ । कांग्रेसको ध्यान भने जसरी भए पनि राप्रपालाई आफ्नो साथ लिएर सरकार बनाउन चाहन्छ । त्यसैले गठबन्धन राप्रपालाई मुख्यमन्त्री दिएर भए पनि एमालेलाई सत्ताबाट हटाउने पक्षमा देखिन्छ ।
तर, केन्द्रबाट सरकार छाडेको राप्रपा फेरि माओवादी र कांग्रेसको सरकारमा जाला/नजाला त्यो अन्योल छ । एमालेबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री बनेका तिलकुमार मेन्याङ्बो लिम्बू भने अहिले यही सरकार चलिरहने विश्वास व्यक्त गर्छन् । उनले सरकारमा भएका दलबीच सहकार्य भइरहेको बताए । ‘हामीसँग एमाले माओवादी र राप्रपा गरेर बहुमतमै छौँ,’ उनले भने, ‘भोलि पर्सी के हुन्छ भन्न सकिँदैन । तर, अहिले यही सरकार अगाडि बढ्छ भन्ने विश्वास छ ।’
नयाँ सरकार बनाउन सहज नदेखिएकाले माओवादी पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहिरहेको उनको दाबी छ ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया