दिवा खाजामा फलफूल, मासु र खिर-विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

लहान-सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।
यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो । अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ ।
खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा-भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताए ।
“खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी सङ्ख्या पहिलेको तुलनामा धेरै नै बढेको छ । यसबाट विद्यार्थी खुसी पनि छन्”, महतोले भने, “विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन् । यसले गर्दा हामीलाई उत्साही बनाएको छ ।”
विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ ।
विद्यालय अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ ।
उनी भन्छन्, “सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।”
नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताए ।
बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्वपूर्ण मानिन्छ । लहानमा ५९ सामुदायिक, १२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो । प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको रु १५ दिने गरेको छ ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया