हेटौंडाको तापक्रम ३७ डिग्री : विद्यालय बन्द गरिँदै, घाममा ननिस्कन स्वास्थ्यकर्मीको सुझाव

मकवानपुर- एक्कासि तापक्रम बढेपछि मकवानपुरमा सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न थालिएको छ ।
पछिल्लो साता तापक्रम बढेसंगै मकवानपुरको बकैया गाउँपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा ५ ले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरू बन्द गरेको छ ।
अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगर वडा नम्बर–५ का सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिने हेटौंडा–५ वडा कमिटीको बैठकले निर्णय गरेको हो । जेठ २१, २२ र २३ गते विद्यालय बन्द गरिने निर्णय गरिएको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।
निकै गर्मीका कारण विद्यार्थीहरूलाई पढ्न समस्या भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थापाले बताए । हेटौंडा उपमहानगरले गर्मी हुने वडाहरूको आवश्यकताका आधारमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्नेबारे निर्णय गर्ने अधिकार वडा तहलाई दिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाले उच्च गर्मीका कारण एक साताका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।
जेठ २१ देखि २७ गतेसम्म एक साताका लागि विद्यालय बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको अवस्थालाई मध्यनजर गरी बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा २ मा पनि विद्यालयहरू बन्द गर्ने वा सञ्चालन गर्ने भन्नेबारे आइतबार बिहान विद्यालय व्यवस्थापन समितिसँग बैठक बोलाइएको वडा ध्यक्ष बिष्णुगोपाल श्रेष्ठले बताए । अहिले मकवानपुरको हेटौंडामा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।
गर्मीबाट हुनसक्ने लु बाट बच्नका लागि स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । पटक-पटक पानी पिउने, खाली पेट नबस्ने, प्याजको रस खाने, बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने कपडा ओड्ने, मध्याह्नको चर्को गर्मीमा घर बाहिर ननिस्कने, पच्ने खानेकुरा मात्र खाने, नरम, मुलायम सुतीको कपडा लगाउने, चिसो फल तथा खानेकुरा सेवन गर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया