मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

राप्रपाद्वारा संसद् स्थगन प्रस्ताव पेस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित हुनुपर्ने माग राख्दै संसद सचिवालयमा स्थगन प्रस्ताव पेश गरेकाे छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणका क्रममा गरेका वार्ता र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रहितविपरीत भएकाले त्यसउपर छलफल नगरी संसद अगाडि बढ्न नहुने राप्रपाको माग छ । 

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गरेका वार्ता र राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणबारे संसदमा जवाफ दिनुपर्ने बताएका छन् । यी विषयमा संसदमा छलफल र प्रधानमन्त्री तथा राष्ट्रपतिले जवाफ नदिँदासम्म बैठक अगाडि बढ्न नदिने चेतावनी पनि राप्रपाको छ । 

आजको प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने कार्यसूची छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रधानमन्त्री र राष्ट्रपतिले यी विषयमा जवाफ नदिँदासम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।