निकिशामाथिको दुर्व्यवहार : पहिचानमाथिको प्रहार

काठमाडौँः सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी निकिशा श्रेष्ठमाथि मंगलबार सार्वजनिक थलोमा दुर्व्यवहार भयो । सडकमा हिडिरहेकी श्रेष्ठमाथि स्कुटरमा चढेका किशोरहरुले लैङ्गिक भेदभावपूर्ण शव्दहरु प्रयोग गर्दै दुर्व्यवहार गरे ।
श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो मंगलबार सामाजिक सञ्जालबाट बाहिरिएपछि चारैतिर चर्को विरोध भयो । भिडियोमा अपशव्द बोलेर दुर्व्यवहार गर्नेलाई निकिशाले लखेट्न खोजेको देखिन्छ । भिडियो ‘सफिल’ नाम गरेको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो । अपलोड गर्ने बित्तिकै विरोध हुन थालेपछि सफिलले भिडियो हटाएका थिए ।
श्रेष्ठमाथि दुर्व्यवहार भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले साइबर ब्यूरोलाई छानबिन गर्न निर्देशन दियो । प्रहरीले बिहीबार दुर्व्यवहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर, तौमढीका १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र १६ वर्षीय नाम नखुलेका किशोरलाई प्रहरीले दिउँसो पक्राउ गर्यो । प्रहरीले सफिलले स्कुटर चलाइरहेको र नाम नखुलेका किशोरले श्रेष्ठमाथि अपशव्द प्रयोग गरेको जानकारी दिएको छ ।
श्रेष्ठमाथि लैंगिक दुर्व्यवहार भएको भन्दै अधिकारकर्मीहरूले दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । अधिवक्ता सुजन पन्तले कसैलाई लैङ्गिक पहिचानको आधारमा दुर्व्यवहार गर्नु दुखद् भएको बताए । ‘व्यक्तिले कसरी बाँच्न चाहन्छ त्यो उसको अधिकारको कुरा हो,’ उनले भने, ‘यहाँ अरुलाई दुर्व्यवहार गरेर आफू भाइरल हुन खोजिएको, त्यसो गर्न पाइदैन । कानुनअनुसार यो अपराध हो ।’ यस्ता घटनाले समाज कतातिर जाँदैछ भन्ने कुरा प्रस्टसँग देखाएको पन्तले बताए ।
लैंगिक पहिचानको हकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे जानकारी दिंदै पन्त भन्छन्, ‘कुनै पनि व्यक्तिले आफ्नो अनुभूति अनुसारको लैंगिक पहिचान हासिल गर्नु व्यक्तिगत निर्णयको अधिकार हो । यसमा अरु व्यक्ति, समाज, राज्य वा कानुनले जैविक लिङ्ग के हो भनी निर्धारण गर्नु सान्दर्भिक हुँदैन ।’
कानुनअनुसार नेपालमा जसले आफुलाई जे चाहन्छ त्यही चिनाउन पाउने उनले बताए । भिडियोमा देखिने व्यक्ति आफैले सार्वजनिक गराएको भए विद्युतिय कारोबार ऐनको दफा ४७ मा ५ वर्ष कैद वा एक लाख जरिवाना हुने व्यवस्था रहेको छ । ‘अपराध गर्ने नाबालक हो भने १० वर्ष कटेपछि अपराध गर्न कसैलाई छुट छैन,’ पन्तले भने, ‘उनीहरूका लागि बाल बिज्याइँको कानुन र बाल सुधार गृहहरू यसै बनेका होइनन् ।’
निलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले जबसम्म परिवारले निकिशा जस्ता व्यक्तिलाई स्विकार्दैनन् तबसम्म समुदायले नस्विकार्ने बताइन् । ‘सबैभन्दा पहिला परिवारले उनीहरूलाई बुझ्नुपर्छ,’ उनले भनिन्, ‘उनको परिवारले अहिलेसम्म पनि यो कुरा स्विकारेको देखिँदैन । यो ढाकछोप गरेर लुकाएर राख्ने कुरा होइन ।’
गुरुङले यो घटना अमानवीय गतिविधिको पराकाष्टा भएको बताइन । ‘परिवारले कति हदसम्म साथ दिन्छ र स्विकार गर्छ, त्यसले पनि ऊ माथि हुने दुर्व्यवहारविरुध्द कसरी लड्ने र कम गर्न के गर्ने भन्न सकिन्छ,’ उनले भनिन्, ‘नत्र यस्ता घटनाहरू फेरि नदोहोरिएलान् भन्न सकिदैन । उसले आफ्नो पहिचान र अधिकारको बारेमा राम्ररी कुरा गर्न सक्दिनन् । परिवारले सहयोग गर्यो भने समाजसँग लड्ने बल अवस्य आउँछ ।’
लैंगिक आधारमा गरिने दुर्व्यवहारको लडाइ एक्लैले होइन सबै मिलेर लड्नु पर्ने गुरुङले बताइन् । ‘यो निकिशाको मात्र लडाइ होइन, सम्पूर्ण तेस्रो लिङ्गीहरुको लडाइ हो,’ उनले भनिन्, ‘दुर्व्यवहार गर्नेलाई ढुङ्गाले हान्दैमा लडाइको अन्त्य हुँदैन । निकिशाको केसमा भिडियो बनाएर राखेको भएर एक्सन लिन सजिलो भयो । तर, प्रमाणबिनाका दुर्व्यवहारहरू दैनिक जीवनमा हामीले भोगिरहेका छौं ।’

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया