सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

यसरी शुकनी बनेका थिए गुफी पेन्टल

मुम्बई- गुफी पेन्टल सन् ८० को दशकमा हरघरमा परिचित नाम थियो । बीआर चोपडाको निर्देशनमा बनेको ‘महाभारत’मा शकुनी बनेका गुफीको औँला घुमाउँदै भान्जे भन्ने संवादले उनलाई लोकप्रियताको चुलीमा पुर्याएको थियो । यिनै अभिनेता गुफीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको मृत्युको कारण उमेरजन्य रोग भनिएको छ । अन्तिममा समयमा उनको मुटुले काम गर्न छाडेको बताइएको थियो ।

जीवनकालमा कलाकारदेखि निर्देशकसम्म बनेका गुफी सुरुवातमा कास्टिङ डिरेक्टर थिए । खासमा ‘महाभारत’ सारा कलाकार गुफीले नै छानेका थिए । सिरियल भित्र उनको नाम कास्टिङ डिरेक्टरको रुपमा पनि आउँछ । तर टेलिसिरियलमा शकुनी बन्ने कुरा उनले कल्पना पनि गरेका थिएनन् ।उनले राज्य सभा टिभीलाई दिएको अन्तर्वार्तामा आफूले शुकनी बन्न लायक सारा कलाकारको अडिसन लिएर निर्देशक बीआर चोपडालाई देखाएको तर कहिलै पनि उनले चाख नदिएको स्मरण गरेका थिए ।

‘सारा कलाकारको टुंगो लागिसकेको थियो तर शकुनीको भने कास्टिङ भएको थिएन । जहिले पनि देखाउँदा भइहाल्छ नी छानौँला भन्थे । भरे त यो भूमिका उहाँहरूले मेरा लागि नै राखिरहनु भएको रहेछ,’ उनको भनाइ थियो । तर सिरियल प्रसारण भएपछि समाजमा भने आफूलाई टिक्न गाह्रो भएको उनले बताएका थिए । यही सिरिजमा गरेको कामले रिस उठेर उनलाई ट्रेनमा बस्ने सिट पनि नदिएको उनले बताएका थिए । सिरियल चलिरहँदा हात खुट्टा भाँचिदिने धम्किसहितका पोस्टकार्ड पनि पाउने गरेको उनले अन्तर्वार्तामा खुलासा गरेका थिए ।