मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

च्याम्पियन्स लिगः सिटी र मिलानबीचको फाइनल आज राति

काठमाडौँ- युईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । सिटी र मिलानबीचको फाइनल खेल इस्तानबुलको अटाटर्क ओलम्पिक स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

इटालियन क्लब मिलानविरुद्ध मैदानमा उत्रँदा सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा हुनेछ । त्यसैगरी, सिटी ‘ट्रेबल’ पूरा गर्ने दोस्रो इंग्लिस क्लब समेत बन्न चाहन्छ । सिटीले जारी सिजनमा इंग्लिस प्रिमियर लिग तथा एफए कपको उपाधि जितिसकेको छ ।

तीन वर्षभित्रै सिटी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि सन् २०२०-२१ को सिजनमा इंग्लिस क्लब चेल्सीसँग पराजित भएपछि सिटी उपाधि जित्न सकेन ।

‘हामीले पहिलो पटक उपाधि जित्ने उपाय खोज्नुपर्छ । यदि हामीले जित्यौ भने यो खेलाडी, क्लब र समर्थकका लागि ठूलो कुरा हुनेछ,’ सिटीका प्लेमेकर केभिड डी ब्रुएनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि म्यानचेस्टर युनाइटेडले मात्र इंग्लिस क्लबका लागि ‘ट्रेबल’ पूरा गरेको छ । उसले सन् १९९८-९९ को सिजनको प्रिमियर लिग, एफए कप तथा च्याम्पियन्स लिग जितेको थियो ।

तर पछिल्लो समय लयमा रहेको सिटी यसपटक ट्रेबल पूरा गर्न चाहन्छ । उसले सबै प्रतियोगितामा गरी पछिल्ला २६ मध्ये केवल एक खेलमा मात्र पराजय भोगेको छ । युरोपेली स्तरमा पनि अपराजित रहेको सिटीले १२ मध्ये ७ खेलमा जित हात पारेको छ ।

सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला सन् २०११ मा स्पेनिस क्लब बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाएदेखि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ । सन् २०११ भन्दा दुई वर्षअघि उनले बार्सिलोनालाई ट्रेबल उपाधि दिलाएका थिए ।

उनले आफ्नो सफलताको कारण भनेको त्यतिबेला बार्सिलोनामा लियोनल मेस्सी तथा अहिले सिटीमा अर्लिङ हालान्ड रहेको बताए । हालान्डले जारी सिजनमा लिगमै कीर्तिमानी ३६ गोल तथा समग्रमा ५२ गोल गरिसकेका छन् ।

अर्कोतर्फ सन् २०१० मा गुआर्डियोलाकै बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित गर्दै मिलानले ट्रेबल पूरा गरेको थियो । तर च्याम्पियन्स लिगमा मिलान र सिटी पहिलो पटक आमने सामने हुन लागेका हुन् ।

मिलान चौँथो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ । इटालियन ‘सिरी ए’ मा तेस्रो भएको मिलानले कोपा इटालियाको उपाधि जितेर च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।

च्याम्पियन्स लिगको १२ खेलमध्ये कीर्तिमानी ८ खेलमा गोल नखाएको मुख्य प्रशिक्षक सिमोन इन्जाघीको मिलानलाई पनि कम आक्न मिल्दैन ।

उसका स्ट्राइकर लाउटारो मार्टिनेजले पनि जारी सिजनको ५८ खेलमा २८ गोल गर्दा ११ असिस्ट गरेका छन् । सिटीकै पूर्व स्ट्राइकर एडिन जेको र चेल्सीबाट लोनमा गएका स्ट्राइकर रोमेलु लुकाकु पनि सिटीका लागि चुनौती बन्न सक्छन् ।

इन्जाघीले पनि सिटीविरुद्धको खेल आफू तथा खेलाडी दुबैका लागि निकै महत्वपूर्ण रहेको बताए । उनले वर्षौको संघर्षको उपलब्धि उपाधि हुने दावी समेत गरे ।

मिलानकै अर्जेन्टिनी फरवार्ड मार्टिनेजले सिटीविरुद्ध मिलानले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि मिलान लैजाने विश्वास व्यक्त गरे ।