बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा सातको मृत्यु

राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ । बिहीबार भएको हिंसात्मक प्रदर्शनमा परेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको प्रदर्शनमा सात जनाको मृत्यु हुनुको साथै ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले मंगलबार एएफपी समाचार समितिलाई जानकारी दिए । 

प्रदर्शनको क्रममा कोभिड-१९ भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरू उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तर पनि सोमबारदेखि नै उनका समर्थकहरूले प्रहरीलाई नै आक्रमण गरिरहेका प्रहरीले बताएको छ । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार हिरासतमा लिएको छ ।

त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ । युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन एक उम्मेदवार हुन् । उनी त्यहाँको विपक्षी दलको नेता पनि हुन्  । 

युगान्डाका प्रसिध्द पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी  युगान्डाका राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् । विरोध प्रदर्शन गएको सोमबारदेखि नै भएको थियो तर आज बढी हिंसात्मक भएको त्यहाँको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यस प्रदर्शनका क्रममा बिहीबार बोबी वाइनका समर्थकहरूले कम्पालाका सडकहरूमा आगो बालेर कतिपय भौतिक संरचनामा आगजनी गरेर र सडक अवरुध्द गरेर विरोध गरिरहेका छन् । (रासस