सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

प्रधानमन्त्री, अर्थमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै बजेट केन्द्रित भन्ने कुरामा सत्यता छैन : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री, अर्थमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै बजेट केन्द्रित भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।  सोमबार प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन् । 

‘प्रधानमन्त्रीको, अर्थमन्त्रीको र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै सबै बजेट गयो कि ? हुँदा हुँदा ४० प्रतिशत नै बजेट गयो कि भन्ने जस्ता कुराहरू पनि आए,’ उनले भने, ‘त्यसमा कुनै सत्यता छैन ।’

बजेट किताब हेरेपछि त्यो सबैले थाहा पाउन सकिने भएको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयमा छुट्याएको १ सय २३ अर्ब विनियोजन रहेकोमा प्रधानमन्त्रीको, अर्थमन्त्रीको र पूर्वप्रधानमन्त्रीको जिल्लामा छुट्याएको रकम नगन्य रहेकोसमेत उनले जानकारी दिए ।