आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सांसदबाट पदमुक्त गरिएका लुम्बिनीका मन्त्रीको रिटमाथि सुनुवाइ हुँदै

बुटवल : जसपाको आन्तरिक विवादका कारण सांसद पद गुमाएका लुम्बिनीका चार मन्त्रीको मुद्दामा आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ। लुम्बिनी प्रदेश सभाका मन्त्रीहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश सभा सचिवालय र उनीहरू आवद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अन्य प्रतिपक्ष दलसँग मिलेर जसपाले अविस्वासको प्रस्ताव ल्याएको थियो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना समेतगरी चारजना पोखरेलकै मन्त्रिमण्डलमा सहभागी भएपछि जसपाले कारबाही गरेको थियो।

 सांसद पदबाट मुक्त गर्नेगरी पार्टीले गरेको कारबाहीलाई प्रदेश सभाले सूचना निकालेर तुरून्तै कार्यान्वयन गरेको थियो। पार्टीले सुनुवाइको मौका नै नदिई कारबाही गरेको, कारबाही गर्ने क्रममा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नबसेको र मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी हुने निर्णय  प्रदेश सभा संसदीय दलको बहुमतले गरेको जस्ता कारण देखाउँदै उनीहरूले आफूहरूमाथि भएको कारबाही बदर गर्न माग गरेका छन्। 

उनीहरूको पक्षमा अदालतले फैसला दिए अल्पमतमा परेको लुम्बिनीको सरकारले विश्वासको मत लिने छ । त्यस्तो नभए शंकर पोख्रेल नेतृत्वको सरकार थप संकटमा पर्ने छ ।