सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

विनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै एमालेकाे आपत्ति

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले पर्यटन मन्त्रालय अन्तर्गत विनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा पर्यटन मन्त्रालय अन्तर्गत विनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम नराखी प्रदेश १, २, ३ लेखिएको भन्दै आपत्ति जनाएको हो । मन्त्रालयगत बजेटको छलफल सुरु हुने बित्तिकै एमाले सचेतक महेश बर्तौलाले प्रदेशको नामकरण भइसकेको अवस्थामा त्यसलाई संघीय संसदले अस्वीकार गरेर संख्याका आधारमा प्रदेशलाई उल्लेख गरिनु उचित नभएको बताए ।

उनले प्रदेशको नाम अंकमा लेखेको विषयलाई सुधार गरे मात्रै छलफल अघि बढ्ने बताएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रदेशको नाम अंकमा लेखेको विषयलाई भूलसुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, एमाले सांसदहरूले प्रदेशको नाम नै उल्लेख गरेर बजेट पुस्तिका आउनुपर्ने अन्यथा छलफल अघि बढ्न नसक्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूचीबाट पर्यटन मन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्यसूची हटाएका थिए । त्यसपछि अन्य मन्त्रालयमाथिको बजेटमा छलफल भएको छ ।