बागमती सरकारले बजेट बढाएर ल्याउने

हेटौंडाः चालू आर्थिक वर्षमा ५१ अर्बको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा बजेट बढाएर ल्याउने तयारी गरेको छ । कोभिडको दोस्रो लहर बढेकोले स्वास्थ्य क्षेत्रमा बढी बजेट खर्चनुपर्ने तथा बहुवर्षीय योजनाहरूलाई पूरा गर्नुपर्ने हुँदा बजेट बढ्न सक्ने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।
उनले सबै मन्त्रालयलाई बजेट सिलिङ पठाइसकेको भन्दै ठयाक्कै बजेट कति आउँछ भनेर भन्न नसक्ने बताए । बागमती प्रदेश सरकारले वर्षैपिच्छे बजेटको आकार बढाउँदै लगेको छ । आव ७४/७५ मा १ अर्बको बजेट ल्याएको प्रदेशले क्रमश आव ७५/७६ मा ३४ अर्ब, आव ७६/७७ मा ४७ अर्ब हुँदै आव ७७/७८ मा ५१ अर्बको बजेट पास गरेको थियो ।
आगामी वर्षको नीति तथा योजना र बजेट निर्माणमा सबै मन्त्रालय लागिसकेका छन् । पूर्वबजेटसम्बन्धी छलफल भएर मात्रै बजेट सिलिङ मन्त्रालयलाई पठाइएको आर्थिक मामिला मन्त्रालयकी उपसचिव बिमला घिमिरेले बताइन् । उनले मन्त्रालयले चालू वर्षमा गरेको खर्चलाई आधार मानेर सिलिङ पठाएको जानकारी दिइन् । नीति योजना तथा बजेट यर्थापरक बनाउन प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफलमा सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।
बागमती प्रदेशमा सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि बजेट छुट्टिने गरेको छ । कूल बजेटको करिब ३५ प्रतिशत बजेट भौतिक मन्त्रालयलाई छुट्टाइन्छ । सडकपुल, खानेपानी, भौतिक संरचना लगायतको क्षेत्रमा धेरै खर्च हुने हुँदा आगामी वर्षमा पनि भौतिक मन्त्रालयको बजेट सबैभन्दा बढी हुने देखिएको छ ।
भौतिक विकास मन्त्री रामेश्वर फुँयालले गएको चैत्रबाटै आगामी बजेटको लागि आन्तरिक तयारी थालिएको जानकारी गराए । उनले मातहतको सबै कार्यालयहरूको योजना पेश भएको अन्तिम चरणमा पुगेको बताए । यस्तै आगामी वर्षमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेर बजेट तयार पारिने सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् ।
उनले कोभिडविरुद्ध लड्न स्वास्थ्य पूर्वाधारको लागि पर्याप्त बजेट विनियोजन हुने जानकारी दिइन् । यता कोभिडले उद्योग, पर्यटन व्यवसायलाई राहत हुनेगरी बजेट ल्याउने तयारी उद्योग तथा पर्यटन मन्त्रालय लागिपरेको छ । आउँदो असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने भएपनि नीति तथा कार्यक्रम सार्वजनिक हुने मिति टुंगो लागेको छैन । बजेट ल्याउनुपूर्व नै नीति तथा कार्यक्रम घोषणा गर्ने आर्थिक मामिला मन्त्री ढुंगेलले जानकारी दिए ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया