सुपर सिक्सको सम्भावना कायमै राख्न अमेरिकालाई हराउनुपर्ने दबावमा नेपाल

काठमाडौँ- जिम्बाब्वेमा आइतबारदेखि सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत दोस्रो खेल नेपालले भोलि (मंगलबार) अमेरिकाविरुद्ध खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिकाबीचको खेल हरारेस्थित टाकासिङ्गा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
मंगलबार मैदानमा उत्रदा नेपालको एउटै उदेश्य भनेको अमेरिकाविरुद्ध २ अंक जोड्नु हुनेछ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय भोगेपछि दबावमा परेको नेपालले सुपर सिक्सको सम्भावना कायम राख्न पनि अमेरिकाविरुद्ध जित निकाल्नुपर्नेछ ।
छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहबाट समान ३-३ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुग्ने टोलीमध्ये दुई टिम भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
समूह ‘ए’ मा दुई टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज र जिम्बाब्वेसँगै नेपाल, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा भने टेस्ट राष्ट्रहरु श्रीलंका र आयरल्यान्डसँगै स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।
समूह ‘ए’ मा रहेका दुवै टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज र जिम्बाब्वेले आ-आफ्नो पहिलो खेलमा जित हात पार्दै प्रतियोगिताको सुरुवात गरेका छन् । जबकि नेपाल र अमेरिका पहिलो खेलमै पराजित भए ।
यससँगै सुपर सिक्समा स्थान बनाएर विश्वकप छनोटको आशा जीवितै राख्न पनि नेपालले मंगलबारको खेलमा अमेरिकालाई पराजित गर्नुपर्ने हुन्छ । अमेरिकापछि नेपालले दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध खेल्नुपर्नेछ ।
वेस्ट इन्डिजविरुद्ध खेल्नुअघि नेपालले अमेरिकालाई पराजित गर्नसके नेपाली टिमको मनोबल उच्च रहनेछ । समूहको पहिलो खेलमा पनि उत्कृष्ट ब्याटिङ गरेर पनि बलिङमा चुक्दा नेपाल पराजित हुन पुगेको थियो । नेपालका ओपन कुशल भुर्तेल ९९ रनमा आउट हुँदा आशिफ शेखले ६६ रन बनाए । जिम्बाब्वेविरुद्ध अन्य चार ब्याटरले पनि दोहोरो अंकमा रन जोडेका थिए । तर बलिङमा भने नेपालको प्रदर्शन सोचेअनुरुप हुन सकेन ।
अर्कोतर्फ अमेरिकाले भने वेस्ट इन्डिजविरुद्ध बलिङ र ब्याटिङ दुबैतर्फ राम्रो प्रदर्शन गरेपनि ३९ रनको पराजय भोगेको थियो । अमेरिकाका गजानन्द सिंहले १ सय ९ बलमै अविजित १ सय १ रन जोड्दा ८ चौका र २ छक्का हिर्काएका थिए । बलिङमा पनि सौरभ नेत्रभाल्कर, कायल फिलिप र स्टेभेन टेलरले समान ३-३ विकेट हात पार्दै वेस्ट इन्डिजलाई ३ सय मुनी नै समेटेका थिए ।
त्यसैले नेपाललाई जिमबाब्वेविरुद्ध बलिङमा गरेको गल्ति अमेरिकासँग दोहर्याउने छुट हुनेछैन । हुन त नेपाल र अमेरिका एकदिवसीयमा चिर-परिचित राष्ट्र हुन तर अमेरिकाले वेस्ट इन्डिजविरुद्ध गरेको प्रदर्शनका कारण नेपालले अमेरिकालाई पराजित गर्न त्यति सहज नहुने देखिन्छ ।
यसअघि अमेरिका र नेपालबीच ६ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले ३ खेल जित्दा अमेरिकाले २ खेलमा जित हात पारेको थियो । एक खेल भने बराबरीमा टुंगिएको थियो ।
अमेरिका र वेस्ट इन्डिजपछि नेपालले समूह चरणको अन्तिम खेल भने नेदरल्यान्ड्सँग खेल्ने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया