आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

संसद्को विश्वास प्राप्त नगरेको सरकारले नियमित बजेट ल्याउन मिल्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन बोलाएको वैशाख २७ को विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्न सकेनन् । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने राष्ट्रपतिको आह्वानअनुरूप पनि सरकार बन्न सकेन । सँगै ठूलो दलको हैसियतमा ओलीले नै अल्पमतको सरकारको नेतृत्व गरेका छन् । अब यो अल्ममतको सरकारको एक महिनाभित्र बहुमत साबित गर्नुपर्ने संवैधानिक बाध्यता छ । 

यो सरकारलाई ‘कामचलाउ’ नभनिए पनि विश्वासको मत प्राप्त नगरेसम्म अनिश्चितताको सरकार हो । अर्थात् यो सरकारको निरन्तरता अनिश्चित छ । हाम्रो संविधानले जेठ १५ मा बजेट प्रस्तुत गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । संविधानले जेठ-१५’लाई ‘कट अफ डेट’ मानेको छ । त्यसो हुँदा हाम्रो संविधानअनुरूप बजेट घोषणाका निम्ति त्यो मितिमा तल-माथि गर्ने कुनै पनि किसिमको छुट प्राप्त छैन । अर्कातिर सरकारले विश्वासको मत लिएपछि बजेट घोषणा गर्न सकिने स्थिति पनि छैन ।

अब त्यो संवैधानिक व्यवस्थाका कारणले गर्दा सरकारले पूरा बजेट ल्याउने तयारी गरेको देखिन्छ । तर विश्वव्यापी प्रचलन चाहिँ के छ भने चुनाव घोषणा भएका बेला, दोस्रो कामचलाउ सरकार भएका बेला र तेस्रो विश्वासको मत प्राप्त गर्न नसकेको अनिश्चित सरकार भएका बैला पूरा बजेट प्रस्तुत गरिँदैन । त्यस्तो बेलामा ‘भोट अन एकाउन्ट’ जारी गर्ने प्रचलन छ । ‘भोट अन एकाउन्ट’ भनेको अनिश्चित सरकारले नियमित बजेट ल्याउनु हुँदैन भन्ने मान्यता हो । किनभने अनिश्चित सरकारले ल्याएको बजेट पछिल्लो सरकारका निम्ति बोझमा परिणत हुन सक्छ । 

त्यसो हुँदा सर्वसञ्चित कोषबाट दुई–चार महिनाका निम्ति निश्चित रकम झिक्न पाउने व्यवस्था हुन्छ । किनभने सरकार चलिरहनुपर्छ, राज्य सञ्चालन भइरहनुपर्छ । तर, बजेट भनेको चाहिँ नागरिकद्वारा अनुमोदित संसद्बाट मात्रै घोषणा हुने व्यवस्था छ । त्यस्तो अवस्थामा सर्वसञ्चित कोषबाट रकम झिक्न पाउँछन् । तर प्रत्यक्ष करका दरहरू चाहिँ परिवर्तन गर्न पाइँदैन । त्यो हिसाबले अन्तरिम बजेट ल्याउने चलन छ । 

भारतमा पनि चुनाव घोषणा भएका बेलामा यही पद्धतिअनुरूप बजेट खर्च गर्नुपर्ने संवैधानिक व्यवस्था छ । भारतीय संविधानको धारा २६६ मा यो व्यवस्था छ । त्यही किसिमको व्यवस्था नेदरल्यान्डस्मा पनि छ । अपवादका रूपमा बंगलादेशमा संविधानमै अन्तरिम सरकारले पनि बजेट ल्याउन सक्ने व्यवस्था छ । बंगलादेशबाहेक अरु लोकतान्त्रिक मुलुकमा अनिश्चित सरकारका भएका बेला यसरी ‘भोट अन एकाउन्ट’मा जाने चलन छ । 

यो सरकारले विश्वास मत प्राप्त गर्न सकेन भनेपछि आउने सरकारले पूरक बजेट ल्याउनुपर्ने हुन्छ । उसले त्यो खर्च पनि संसद्बाटै अनुमोदन गर्छ । त्यसो हुँदा सामान्यतया लोकतान्त्रिक मुलुकमा संसद्ले अनुमोदन गरेको रकमबाहेक खर्च गर्न नपाउने व्यवस्था छ । सरकारले संसद्‍बाट बजेट अनुमोदन नगरीकन करका दर परिवर्तन गर्ने, ठूला कार्यक्रम घोषणा गर्न पाउँदैन । किनभने यो निश्चित सरकार होइन, अनिश्चित सरकार हो । त्यसो हुँदा यतिखेर सरकारले अन्तरिम बजेट वा ‘भोट अन एकाउन्ट’मा जानुपर्ने हुन्छ । सरकारले जसरी पूरा बजेट ल्याउने तयारी गरेको छ । बजेट नयाँ कार्यक्रमहरूसहित आउने भन्ने छ, यो नैतिक दृष्टिकोणले उचित होइन । 

यद्यपि हाम्रो संविधानमा त्यो विषयमा स्पष्ट उल्लेख छैन । तर, नैतिक दृष्टिकोणले अनिश्चित सरकारले बजेट ल्याउनु वाञ्छनीय हुँदैन । किनभने अनिश्चित सरकारले जथाभावी बजेट विनियोजन गर्न सक्छ । उसले वास्तविकतामा आधारित हुँदै भन्दा पनि चुनाव जित्ने योजनाअनुरूप बजेट घोषणा गर्न सक्छ । निश्चित समूहलाई पुग्ने किसिमले अनेकन् छूट दिन सक्ने सम्भावना रहन्छ । त्यहीकारण ‘भोट अन एकाउन्ट’ व्यवस्था जानुपर्छ भनिएको हो । 

यो पद्धतिले सरकारलाई जथाभावी खर्च गर्न वा छूट दिने काममा बाँध्छ । कुनै पनि बेला चुनावमा जाने तयारीमा रहेको अनिश्चित सरकारले ‘प्रियतावादी’ बजेट ल्याउँछ । उसको मूल उद्देश्य चुनाव जित्नु हो, त्यसअनुरूप उसले बजेट बनाउन खोज्छ । त्यसरी अनुचित काम गर्न नपाओस् भन्ने हिसाबले सर्वसञ्चित कोषबाट निश्चित रकम झिक्न पाउने व्यवस्था गरिन्छ । 

त्यो रकमबाट चालु खर्च, कर्मचारी तलब, सरकार सञ्चालनको खर्च र पुराना कार्यक्रमहरूलाई यथावत् राख्नेबाहेक अरु नयाँ काम गर्न पाउँदैनन् । त्यसअतिरिक्त अनिश्चित सरकारले करका दरहरू परिवर्तन गर्न पाउँदैन । सरकारले करका दरहरू परिवर्तन गरी कसैलाई बढी सुविधा दिन खोज्छ । चुनावी सरकारलाई यस्ता काम गर्न नदिने उद्देश्यले ‘भोट अन एकाउन्ट’को व्यवस्था गरिएको हुन्छ । यो एउटा लोकतान्त्रिक विधि हो ।

तर, सरकारले पूरै बजेट ल्याउन खोजेको हो भने त्यो अनैतिक काम हो । यदि त्यसरी ‘भोट अन एकाउन्ट’मा आधारित खर्च गर्न संविधान बाधक बनेको हो भने राष्ट्रिय सहमतिका आधारमा त्यसको निष्कर्ष खोज्नुपर्छ । 

(अर्थसचिवको समेत जिम्मेवारी निर्वाह गरेका पूर्वमुख्यसचिव कोइरालासँगको कुराकानीमा आधारित ।)