र्यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, हत्या भएको भन्दै आफन्तले दिए जाहेरी

विराटनगर- र्यापर गिरिस खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा एक युवकको रहस्यमय मृत्यु भएको घटनामा मृतकका आफन्तले क्याफे सञ्चालक खतिवडासहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
असार ३ गते विहान करिब ११ बजेको समयमा उक्त क्याफेमा मासुको पैसा उठाउन भनेर गएका मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारका कासिद अन्सारीको रहस्यमय मृत्यु भएको थियो । कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारीले उक्त क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रुपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएका थिए ।
तर, क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरूले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले भने क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले हत्या गरेको भन्दै उनीहरू विरुद्ध किटानी जाहेरी दिएका हुन् ।
प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर–८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर महानगरपालिका–१६ का अनुराग राउतविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले किटानी जाहेरी परेको जानकारी दिए । घटनाको सबै परिस्थितिको पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको उनले बताए । तर, अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए ।
‘असार ३ गते विहान ११ बजेतिर घटना भएको भन्ने व्यहोरामा जाहेरी दर्ता भएको छ’ प्रवक्ता दाहालले भने, ‘हाम्रो तर्फबाट अनुसन्धान गरिरहेका छौं, कसैलाई पनि पक्राउ गरिसकेको छैन, सबै परिस्थिति हेरेर अनुसन्धान जारी छ ।’
मृतकका अन्सारीका भाइ मासिदले भने मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको आरोप लगाएका छन् । कासिदले जि क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएको जनाइएको छ ।
मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले जनाएको छ । होटेल सञ्चालक खतिवडाले भने क्याफेको सिसाको ढोकामा कासिद ठोकिँदा सिसाले काटेको र उनलाई उपचारका लागि विराट अस्पतालमा लैजाँदा उपचारकै क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी गराएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया