हेटौंडामा प्रदेश युवा सम्मेलन सुरु

मकवानपुर- बागमती प्रदेशको हेटौंडा प्रदेश युवा सम्मेलन सुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री कुमारी मोक्तानले आज सम्मेलनको उद्घाटन गरिन् ।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोक्तानले युवाको सवालमा काम गर्न मन्त्रालय सधैं तयार रहेको बताइन् । युवालाई स्वरोजगार बनाउन निरन्तर बजेट विनियोजन गरेको उनकाे भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ करोडौं बजेट मन्दिर, पाटीपौवा निर्माणमा छुट्याइएको तर, युवा उद्यमशीलताका लागि बजेट नभएको गुनासो गरे । नीति योजना र बजेट छुट्याउनु अघि नै युवाहरूको यस्तो सम्मेलन गर्नुपर्ने उनले बताए । युवालाई विदेश हैन, आफ्नो गाउँठाउँमा उद्यमी बनाउन स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनकाे जिकिर छ । 'युवाहरू विदेश पलायन भए पनि सीप दिएर पठाऔँ,' उनले भने, 'यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिनुपर्छ ।'
कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामीले युवाहरू सत्तामा पुग्ने भर्याङ मात्रै नभएको बताए । सिर्जनात्मक कामको थालनी युवाले गर्नुपर्ने उनले बताए । देश विदेश घुमेर सीप, सिर्जनात्मकता र लगनशीलता सिक्नुपर्ने उनले बताए ।
' सुन बनाउनेदेखि फोहोर संकलन गर्न सम्म विदेशीहरू हामी कहाँ आउँछन्, हामी नेपाली युवा चाहिँ किन बेरोजगार,' उनले प्रश्न गरे ।
कार्यक्रम बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा नरबिक्रम थापाले देशको आर्थिक सामाजिक राजनीति विकास र परिवर्तन गर्न युवाको दायित्व र योगदान भएको बताए ।
कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मेलनको बारेमा अवधारणा पत्र सार्वजनिक गरेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनले हेटौंडा घोषणा पत्र जारी गर्ने छ । सम्मेलनमा प्रदेशको १३ जिल्लाका करिब २ सय जना सहभागी छन् ।

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

प्रतिक्रिया