एमाले र राप्रपाकाे विरोधपछि बागमती प्रदेशसभा बैठक अवरुद्ध

मकवानपुर- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको बैठक अवरुद्ध भएको छ ।
मंगलबार भएको दोस्रो बैठकमा प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
प्रदेश सरकारले बजेटलाई समावेशी ढंगबाट वितरण नगरेको, हुँदै नभएको वडामा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएको लगायतका विषयका कारण प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका थिए ।
बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आज सुरु भएको छलफलको प्रारम्भमै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरूले उठेर बैठक बहिष्कार गरेका थिए ।
थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए । बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्तो बेथितिको अन्त्य जरुरी भएको बताए ।
बजेटमा मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौँमा वडा नै नभएको स्थानमा बजेट विनियोजन भएको छ । यसप्रति उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए । बजेट पुनर्लेखन गरेर समावेशी बनाएर मात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।
एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । यसअघि बसेको बैठक ५ वटा विषयगत समिति बनाएर स्थगित गरिएको थियो । अहिले फेरि साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया