शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

संसदमा प्रधानमन्त्रीको गुनासो : ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैँसी भन्नेमा अल्झियौँ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ठूला उपलब्धिलाई छाडेर सांसदहरूले मुर्रा राँगो हो कि भैँसी भन्नेमा समय खर्चिएको भन्दै गुनासो गरेका छन् । बुधबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफू नेतृत्वको सरकारले ठूल्ठूला काम गरे पनि सांसद स-साना कुरामा अल्झिएको बताए । 

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ । संसदसँगै पनि मेरो गुनासो छ । भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ,’ आफ्नो सरकारले गरेका कामको बेलिबिस्तार लगाउँदै उनले भने । 

उनले थपे, ‘तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसद्को लामो समय लियौँ । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद् गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’