राजमार्ग विस्तार प्रकरण : ३५ दिने म्यादमा २२ दिन बाँकी, दिनदिनै विरोधका कार्यक्रम

मकवानपुर- एसीयन हाईवेको सवाल बेला बेलामा तात्ने र ओझेल पर्ने गरेको छ । मकवानपुरमा दुई सातायता फेरि यसबारे दिनदिनै दबाब सुरु भएको छ ।
गत असार १० गते संघीय सरकार अन्तरगतको डिभिजन सडक कार्यालय मकवानपुरले राजमार्ग विस्तारबारे ३५ दिने सूचना जारी गरेपछि यो सवाल फेरि तातेको हो । तोकिएको म्याद सकिन अब २२ दिन मात्रै बाँकी छ ।
सर्वोच्च अदालतको आदेश बमोजिम क्षतिपूर्तिको ग्यारेन्टी गर्नुपर्ने, जनता सुकुम्बासी नहुने विकल्पको खोजी गर्नुपर्ने, सर्वोच्च अदालतको निर्णय बमोजिम जाँचबुझसहित विवरण यकिन गर्नुपर्ने मागसहित बसोबास संरक्षण समिति संघर्षमा छ ।
हेटौंडा बसोबास संरक्षण समितिले जनतालाई सुकुम्बासी बनाउन नपाइने भन्दै व्यक्तिगत सम्पत्ति माथिको मौलिक हक सुनिश्चित गर्न माग गरेको हो । यसबारे स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकाले आफूहरूलाई सहयोग नगरेको भन्दै स्थानीयहरू हेटौंडाको जनप्रतिनिधिविरुद्ध खनिन थालेका छन् ।
आइतबार पनि मकवानपुर उद्योग बाणिज्य संघ, हेटौडा बसोबास संरक्षण मुल समितिले स्थानीय सरकारविरुद्ध नाराबाजी गरेका छन् । संघीय सरकारले एसीयन हाईवे विस्तार गर्ने कार्यको विरोधमा रहेका उनीहरूले हेटौंडाको मेयर उपमेयरविरुद्ध नाराबाजी गरेका हुन् ।
३५ दिने सूचना गरेपछि हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले हेटौंडाको एक सार्वजनिक कार्यक्रममा भाषणका क्रममा आफू सडक विस्तार गर्न तयार रहेको बताएपछि यहाँका स्थानीयहरू जुर्मुराएका हुन् । मेयरलाई भेटेर ध्यानाकर्षण गराउन आएका स्थानीयहरू मेयर उपमेयर दुवैले समय नदिएपछि प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईंलाई संघर्ष समिति अध्यक्ष कृष्णकुमार गुप्ताले ज्ञापनपत्र बुझाएका थिए ।
मेयर लामा र उपमेयर राजेश बानियाँ दुवैले आफूहरूलाई नटेरेको भन्दै उनीहरूले मेयर र उपमेयरविरुद्ध नै नाराबाजी गरेका थिए । राजमार्ग विस्तारको समयमा आफूहरू मेयरसँग भिड्न तयार रहेको र यसको भौतिक क्षतिको जिम्मेवार स्थानीय सरकार हुने धम्की उनीहरूले दिएका छन् ।
आइतबारको विरोध र्यालीले बजार परिक्रमा गरि हेटौडा उपमहानगर पालिका कार्यालय र सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएको हेटौंडा बसोबास संरक्षणा मुल समिति संयोजक गुप्ताले बताए ।
मउवासंघका उपाध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष अरुणराज सुमार्गी, बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, पीडित उद्योगी, घरधनीहरू, व्यवसायीहरूले आ आफ्नो पसल व्यवसाय बन्द गरी विरोध कार्यक्रममा सहभागी भएका थिए ।
चार दशकदेखि विवादको अवस्थामा रहेको राजमार्ग विस्तारको सवाल मेयरकै कारण आगोमा घ्यू थपेजस्तो भएको हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले बताए । ‘मेयर चुप बसेर संघीय सरकारलाई सहयोग गर्ने पर्थ्यो म तयार छु भनेर मासमा किन बोल्नु परेको,’ अध्यक्ष सिग्देलले भने, ‘यो केटाकेटी खेलाई जस्तो भयो अवस्था बुझेर बोल्नु पर्थ्याे ।’ राजमार्ग विस्तार गर्दा हेटौंडा बजारको वडा ४ को क्षेत्र बढी पर्दछ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले १० असारमा सूचना प्रकाशित गरेको थियो ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन गर्ने र काम गर्न नसक्ने कारण यो पाटो विवादमै अल्झिँदै आएको छ ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भए पनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
चार दशकदेखि विवादित र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने । विभिन्न शहरको राजमार्ग चौडा गरिँदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्योलमा नै रहँदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरूले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साँघुरो सडक र घना बस्तीको रहेको हेटौंडा बजार मानवीय बस्तीका रूपमा विकास गरेर बजारको वाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।
पूर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेको थियो । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले २ वर्ष अघि बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्रयाक खुला गरिसकेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरूको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमतिसहितको ज्ञापन पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।
विवादमा रहेको कारण आफूहरूले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोबार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा बिक्री वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर, त्यसको पनि कुनै पहल कदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।
सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर सार्वजनिक गरिसकेको छ । ३ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुवैतर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरूले अदालतमा रिट हालेपछि अदालतले तत्कालका लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।
डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैंक तथा वित्तीय संस्थाहरूलाई कार्यालय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरू मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौंडाको मेनरोडमा पर्ने डेढ दर्जन बैँक र केही सरकारी कार्यालयहरूलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।
सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरूले दिएका छन् ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया