बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

छठको छहारीमा सांस्कृतिक अन्तर्घुलनको विस्तार

छठ पर्वको महत्वले पहाड हिमाल समेतमा व्यापकता बढ्दै आस्था, हर्षोल्सास एवं श्रध्दाको लोक पर्व छठलाई वैश्विक महामारी कोभिड-१९ को त्रासले पनि छेक्न सकेको छैन । कोरोना महामारीको त्रासले अन्य पर्वमा असर पारे पनि मिथिलाञ्चल हुँदै तराई मधेससहित पहाड-हिमाल समेत देशैभरि व्यापकता फैलाउँदै गएको छठ पर्वको आस्था र प्रभावमा कुनै असर परेको देखिएको छेन । 

कालान्तरमा नेपाल-भारतको बज्जिका संघका सदस्य मिथिला र वैशाली राज्यबाट सुरु भएको सूर्य उपसानाको छठ पर्वको आस्था बढ्दै अहिले नेपालका तराई मधेस हुँदै पहाड र हिमालमा समेत बढ्दै गएको छ । आम जनमानसमा रहेको छठ पर्वको आस्था, ऐतिहासिकता, विकासक्रम र प्रभाव तथा महत्वबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

छठ पर्व खासगरी सूर्य उपासनाको पर्व हो । यो आर्यसमाजबाट प्रादुर्भाव भई अहिले नेपाल-भारतमा मात्र नभई संसारभरि कुनै न कुनै रूपमा मनाइँदै आइएको छ । सूर्य उपासनाको विस्तारित रूप कलान्तरमा छठ पर्व हो । जो छठ पर्व लोक आस्थाको पर्व मात्र नभई यो धार्मिक एवं वैज्ञानिक महत्व, सामाजिकता, सांस्कृतिक सद्भाव, एकरूपता, आर्थिक र कृषि क्रान्ति जस्ता विषय समेट्ने महापर्व पनि हो । 

छठ पर्व कहिलेदेखि सुरु भएको हो भन्‍ने यकिन तिथिमिति नभए पनि, वैदिक कालदेखि हरेक युगदेखि मनाइँदै आएको भन्‍न सकिन्छ । सूर्य उपासना परम्परा वैदिक कालदेखि नै सुरु भएको हो । धार्मिक पुराना ग्रन्थको अध्ययन गर्दा सत्य युग, द्वापर युग र कलि युगको वर्तमान समयसम्म यो मनाइँदै आइएको हो । सत्य युगमा अत्रि मुनिकी पत्नी अनुसूया र मिथिलाका ऋषि याज्ञवल्क्यले सूर्यको उपासना गरेका थिए ।

धार्मिक पुराना ग्रन्थको अध्ययन गर्दा सत्य युग, द्वापर युग र कलि युगको वर्तमान समयसम्म यो मनाइँदै आइएको हो ।

द्वापरको महाभारत कालमा हस्तिनापुर नरेश पाण्डवकी पत्नी कुन्तीको जेष्ठ पुत्र कर्णले सूर्य उपासना गरेका हुन् भने द्वापरको अन्त्यतिर भगवान् कृष्णका पुत्र साम्बले चर्मरोगबाट निको हुन सूर्य उपासना गरेका थिए । आर्यसमाज र अनार्य आदिवासीबाट सुरुवात भएको हो भन्ने विभिन्न समाजशास्त्रीहरूले प्रमाणित गरेका छन् । समाजशास्त्री प्रभात रञ्‍जन सरकारले आफ्नो एक पुस्तकमा उल्लेख गरेअनुसार आर्यहरूभन्दा अघि अनार्य आदिवासीहरूले सूर्य पूजा गर्दै आएका थिए ।

आर्यहरूको पहिलो समूह यहाँ आउने क्रममा इरानमा गहुँका परिकार खाएका थिए । जसको कुनै नाम थिएन, त्यस समयमा गोधौँ नाम दिइयो । जसको अर्थ हुन्छ इन्द्रियलाई आनन्दित गर्नु हो । गों भनेको इन्द्रिय र धौँ भनेको आनन्द रहेको हुनाले गोधौँ भन्न थालियो । पछि यसको विस्तारित रूप गहुँ हो ।

आर्यसमाज र अनार्य आदिवासीले संयुक्त रूपमा सूर्यको उपासना गर्ने क्रममा गहुँको परिकार प्रसादका रूपमा चढाउने भएका कारण हालसम्म छठ पर्वमा अधिकांश गहुँको परिकार र कृषि उपजका सामग्री प्रसादका रूपमा आजसम्म चढाइँदै आइएको छ । 

यसलाई मिथिलाञ्‍चलको पर्व पनि भनिन्छ । सूर्य उपासना र पूजाको विभिन्न उदाहरण भए पनि ५ हजार ईसापूर्व याज्ञवल्क्यले सूर्य उपासना गरेको विभिन्न प्रमाण भेटिएको कारण यसलाई मिथिलाञ्‍चलको पर्व भनिँदै आइएको हो । पछि विस्तार हुँदै १ हजारदेखि ६ सय ईसापूर्वमा बज्जिका संघका सदस्य मिथिला र वैशाली दुवै भएपछि दुवै राज्यको कला–संस्कृति मिसिएपछि गंगा घाटीसम्म मनाइँदै आइएको हो ।

नेपाल राज्यमा लिच्छवि कालदेखि सूर्य उपासनाको प्रादुर्भाव भएको हो । जसको प्रामाणिकता काठमाडौँस्थित अभिलेखालयमा संग्रहित लिच्छविकालीन सूर्य मूर्तिहरू छन् । वैदिक अनादि कालदेखि चल्दै आएको सूर्य उपासना हाल आस्था एवं सामाजिक पर्व छठका रूपमा परिणत भएको छ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन मनाइने भएको हुनाले यसलाई छठ पर्व भनिन्छ । षष्ठीको अर्थ छ हुन्छ । कात्तिक शुक्ल पक्षको छटौँ दिन मनाइने भएको हुनाले यो छठ पर्वका रूपमा परिणत भएको हो । तर उपासना चाहिँ सूर्यकै गरिन्छ ।

छठ पर्वलाई जनआस्थासँग जोडिएको हुनाले यसलाई लोक पर्व मानिँदै आइएको छ । तर यसको धार्मिक एवं वैज्ञानिक दुवै महत्व छ । छठ पर्व अर्थात् सूर्य उपासनाले चर्मरोगबाट निको हुने, शारीरिक विकार मेटिने, सन्तान लाभ र परिवारमा सुख शान्ति आउने धार्मिक जनविश्वास रहेको छ । जसको प्रतिफल आम जनमानसमा भेटिएका कारण यसप्रति आस्था र व्यापकता बढ्दै गएको हो ।

धार्मिक र आयुर्वेद दृष्टिकोणले स्नानका विभिन्‍न प्रकारमध्ये बिहान ८ बजेसम्म र सायंकाल ५ बजेदेखि ७ बजेसम्मको स्‍नानलाई निकै लाभकारी मानिएको छ र छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पानीमा उभेर अर्घदान गर्ने चलन छ ।

जहाँसम्म वैज्ञानिक कारणको कुरा हो, यो तथ्यगत रुपमा प्रमाणित छ । सायंकाल अस्ताउँदो सूर्य र बिहान उदाउँदो सूर्यबाट निस्किने पराबैजनी किरण भिजेको शरीर नांगो शरीरमा पर्दा चर्मरोग समाप्त हुन्छ । नदीमा चल्दै गरेको पानी स्वच्छ हुन्छ र सूर्यको पराबैजनी किरणमा ब्याक्टेरिया मार्ने क्षमता भएका कारण चर्मरोग निको हुने वैज्ञानिक प्रमाणिकता छ । चर्मरोगमा विभिन्‍न ब्याक्टेरिया हुन्छ जुन नदीको स्वच्छमा कमजोर भएर जान्छ र त्यसलाई मार्न सूर्यको पराबैजनी किरणले मार्ने भएकाले चर्मरोग निको हुनु स्वाभाविक हो ।

हिजोका दिनसम्म भाइटिका तराई-मधेसतिर पहाडी समुदायले मात्रै मनाउँथे । तर, अहिले संस्कृति आदान-प्रदान बढेपछि छठ पहाडतिर-राजधानीतिर पनि चढेको छ । यो सुन्दर पक्ष हो ।  

त्यसैले छठ पर्वमा नदी, पोखरी र तलाउको घाटमा पानीमा उभेर सूर्यको उपासना अर्थात् अर्घदान दिइने गरिन्छ । खासगरी छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । जसमा चतुर्थी पहिलो दिन नहाय खाय गरिन्छ, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र सप्तमीको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घदान गरिन्छ ।

पहिलो दिन नहाय खाय अर्थात् नुहाईधुवाई मात्रै खाना खाने, धार्मिक दृष्टिकोणले संस्कार सिकाउँछ । हामीले आधुनिक समयमा निकै व्यस्त रहेका कारण कहीँबाट आएको अवस्थामा वा कुनै काम गरिरहेको अवस्थामा बिना नुहाईधुहाई खाना खान बसिहाल्छौँ ।

स्‍नान गर्दा शरीर स्वच्छ मात्रै होइन, मन-मस्तिष्कसमेत हल्का बोझरहित हुन्छ । त्यस अवस्थामा खाना खाँदा शरीरमा पौष्टिकता ल्याउँछ । धार्मिक दृष्टिकोणले संस्कार ल्याउँछ भने वैज्ञानिक दृष्टिकोणले शरीर स्वस्थ राख्छ । दोस्रो दिन खरना मनाइन्छ, जसमा व्रतालुले दिनभरि उपवास बसी सांयकाल माटो वा ताँबा पीतलको बर्तनमा सक्खरयुक्त दूधबाट बनेको खीर खाइन्छ ।

दिनभरि उपवास बस्दा शरीरका विकार मेटिएर आन्द्राको निर्मलीकरण हुन्छ । निर्मलीकरण भएको अवस्थामा कडा वा तैलीय पदार्थले हानी पुर्याउने भएको हुनाले दूध, सक्खर (गुड) र चामल मिसिएको खीरसँगै फलफूल खाँदा शरीरका विभिन्न रोग समाप्त हुनुका साथै पौष्टिकताले नयाँ ऊर्जा थपिन्छ । 

त्यसैले यस दिन दिनभरि उपवास बसी सायंकाल खीर खाने प्रचलन छ । आस्थासँग जोडिएको हुनाले कुलदेवता र पूर्वजलाई प्रसादका रूपमा चढाएर मात्रै खाने चलन छ । यसले के सिकाउँछ भने कुनै पनि सामग्री खाँदा पहिला भगवान् र पूर्वज अर्थात् जेष्ठ सदस्यलाई खुवाएर मात्रै घरका अन्य सदस्यले खाना खानुपर्छ ।

तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घदान दिनुको महत्व त अघि पनि भनिसकेँ । दिनभरि निराहार बस्दा शरीरमा भएका कीटाणु कमजोर हुन जान्छ । त्यसपछि नदी तलाउ र पोखरीको जलमा उभिँदा त्यो कीटाणु झन् कमजोर भएर जान्छ । त्यसमा सूर्यको पराबैजनी किरण पर्दा समाप्त भएर जान्छ ।

चौथो दिन उदाउँदो सूर्यलाई अर्घदान । षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पनि समाप्त हुन नसकेका कीटाणु सप्तमीका दिन बिहान सोही प्रक्रियालाई अपनाउँदा निर्मूल रूपमा समाप्त भएर जान्छ । भन्‍ने हो भन्‍ने खासगरी चर्मरोगबाट निको भएको हुनाले यसप्रति आस्था, जनविश्वास र व्यापकता बढ्दै गएको हो ।

सामाजिकता, एकरूपता, आर्थिक र कृषि क्रान्तिका रूपमा यसरी लिन सकिन्छ । हिन्दु र अन्य समाजमा धेरै पर्व छन्, जसमध्ये छठ नै यस्तो पर्व हो, जसमा सबै समुदायका व्यक्ति एकै ठाउँमा एक साथ हर्षोल्लाससाथ मनाउने गर्छन् । छठ घाटमा को कथित तल्लो जातको हो, को कथित उपल्लो जातको हो, कसैले सोच्दैन सबै एकै ठाउँमा बसेर मनाउने गर्छन् । जसले समाजमा छुवाछूत र जातीयतालाई समाप्त पारी एकरूपता ल्याउँछ ।

जहाँसम्म आर्थिक र कृषि क्रान्तिको कुरा हो । यस पर्वमा चढाइने प्रसाद र प्रयोग हुने सामग्री कृषिसँग नै जोडिएको हो । छठ पर्वमा प्रसादका रूपमा गहुँबाट बनेका परिकार ठकुवा, पेरुकिया, पुरी, चामलका भुसुवा, उखु, बेसार, सुथनी, बैगन, मुँगफली, केरा, स्याउ, अनार, नरिवल, सुन्तला र सिंघारा (पानी फल) लगायतका दर्जनौँ परिकार चढाइन्छ ।

ती प्रसाद सामग्री बाँसबाट तयार भएको छिट्टी, ढकिया, कनसुप्ती, नांग्लो र माटोबाट बनेका ढकना लगायतका भाँडामा चढाइन्छ । यसका साथै माटोको दियो बाल्ने हात्ती चढाइने लगायतका सामग्री कृषिबाट सँग नै सम्बन्धी हुन् । त्यसको व्यापारीकरणले मानिसले राम्रो रुपैयाँ कमाउने भएको हुनाले आर्थिक क्रान्तिका रूपमा लिइन्छ ।

यसलाई हुनत मिथिलाञ्चलबाट सुरुवात भएको भनिन्छ । तर सूर्य उपासनाको इतिहास नेपालसहित विश्वभरि नै कुनै न कुनै रूपमा हुँदै आएको छ । लिच्छवि कालदेखि नै नेपालभरि सूर्य पूजा हुँदै आएको हो । तर छठको रूपमा व्यापकता अहिले बढेको हो । मिथिलाञ्‍चल क्षेत्रमा यसको आस्था र विश्वास बढेपछि यस भेगमा बसेका मानिसहरू पहाड-हिमालमा समेत गएर मनाउन थालेपछि यसको व्यापकता बढ्दै गएको हो ।

हुनत पहिला पनि छठ काठमाडौँको रानीपोखरीमा मनाइने गरिन्थ्यो तर स्व. महेन्द्रनारायण निधिले यसलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गरेपछि व्यापकता पायो । तर काठमाडौँका साथै पोखरा, दैलेख, धरान लगायतका पहाडी तथा हिमाली क्षेत्रमा यसको व्यापकता देशमा संघीयता आएपछि बढेको हो ।

नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवले रानीपोखरी घाटमा मनाइँदै आएको छठ पर्वको दर्शन पूजापाठ गरेपछि मिडियाले प्राथमिकता दिएपछि त्यस्ता यसको महत्व र व्यापकता विस्तारित हुँदै गएको बुझिन्छ । यसका साथै संस्कृति आदान-प्रदानले पनि व्यापकता पाएको छ । उहाँले हिजोको दिनसम्म भाइटिका तराई-मधेसतिर पहाडी समुदायले मात्रै मनाउने गर्थ्यो तर अहिले संस्कृति आदान-प्रदानले यहाँ पनि भाइटिका र दसैँ टिका मनाउने प्रचलन बढेको छ । 

तराई मधेसमा छठ मनाउने पहाडी समुदायका व्यक्ति काठमाडौँ लगायतका अन्य ठाउँमा गएपछि तराई मधेसका साथै पहाड र हिमालमा समेत केही दशकदेखि मनाउन थालिएको हो ।  
  
(लेखक तथा संस्कृतिविद् डा. विमलसँग सुभाष कर्णले जनकपुरधाम घरमै गरेको कुराकानी