मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

६ वर्षकै उमेरमा यौन दुर्व्यवहारको सिकार भएको एभर्टनका डेलेको खुलासा

काठमाडौँ- इंग्लिस फुटबल क्लब एभर्टनका मिडफिल्डर डेले अलीले आफू ६ वर्षकै उमेरमा यौन दुर्व्यवहारको सिकार भएको खुलासा गरेका छन् ।

इंग्ल्यान्डका पूर्व फुटबलर ग्यारी नेभिलसँगको अन्तर्वार्ताका क्रममा डेलले आफूले ६ वर्षकै उमेर यौन दुर्व्यवहारको सिकार भएको खुलासा गरेका बीबीसीले जनाएको छ ।

उनले ६ वर्षको उमेरमा आफूमाथि यौन दुर्व्यवहार भएको, ७ वर्षकै उमेरमा आफूले चुरोट खान सुरु गरेको तथा ८ वर्षको उमेरमा लागूऔषधको कारोबार गरेको खुलासा गरे ।

२७ वर्षीय इंग्लिस मिडफिल्डर डेलेलाई निद्रा लाग्ने औषधि सेवन गर्ने बानी लागे पनि उनले हालसालै पुनर्स्थापना केन्द्रमा ६ हप्ता बिताएका थिए ।

सन् २०१८ को फिफा विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गर्दा डेले टिमका सदस्य थिए । उनले सन् २०१९ मा टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलमा समेत पुर्‍याउन मद्दत गरे ।

उनी सन् २०२२ मा टोटेनहम छाडेर एभर्टन गए तथा गत सिजन नै टर्किस क्लब बेसिक्टासमा लोनमा अनुबन्ध भएका थिए । तर, घाइते भएका कारण उनी गत सिजनको अन्त्यमै एभर्टन फर्किए ।

टर्कीबाट फर्किएपछि उनलाई शल्यक्रिया गर्नुपर्‍यो र जसका कारण उनी मानसिक रुपमा अस्वस्थ भए । त्यसपछि उनी पुनर्स्थापना केन्द्रमा भर्ती भए ।

तर, त्यसबाहेकको प्रसंगमा उनले परिवारबाहिरका सदस्यले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलासा गरे ।