खुल्यो मेची राजमार्ग, हेवा खोलाको बेलिब्रिज सञ्चालनमा

विराटनगर- पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको मेची राजमार्ग आइतबार अपराह्नबाट खुलेको छ । बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि पाँचथरबाट ताप्लेजुङ जोड्ने सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
असार ३ गतेको बाढीले हेवा खोलाको मोटरेबल पुल बगाउँदा मेची राजमार्ग अन्तरगत पाँचथर–ताप्लेजुङबीच यातायात सम्पर्क टुटेको थियो । पुल बगाउँदा सर्वसाधारणको आवतजावतका लागि भनेर तुइन र बाँसको फड्के पुल बनाएर सञ्चालन गरिएको थियो । तर, सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन पनि त्यसपछिको बाढीले पटक–पटक बगाउँदा समस्या भएको थियो ।
प्रहरीले आइतबारबाट हेवाखोलास्थित मेची राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुने गरी बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको जनाएको छ ।
बेलिब्रिज पहिलो पटक सञ्चालनमा आएका कारण आइतबारका लागि साना सवारी साधनमात्रै सञ्चालनको व्यवस्था गरिएको र त्यसपछि क्रमशः ठूला सवारी साधन सञ्चालन गरिने व्यवस्था मिलाएको प्रहरीको भनाइ छ ।
हेवा खोलाको बाढीले पक्की पुल बगाएपछि वैकल्पिक व्यवस्थाका लागि सोही स्थानमा ४८ दशमलव ८० मिटर लामो बेलिब्रिज जडान गरिएको हो । उक्त बेलिब्रिजको एक पटकमा २५ टनसम्म मात्रै भार बहन क्षमता रहेको जनाइएको छ ।
पुल सञ्चालनमा आए पनि तोकिएको भारवहन क्षमताभन्दा बढी यातायातका साधन सञ्चालन नगर्न स्थानीय प्रशासनले यातायात व्यवसायीहरूलाई आग्रह गरेको छ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया