शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ

गोरखा- असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।

आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ । 'यस पटक मनसुन ढिलो गरी सुरु भएको छ, मनसुन सुरु भए पनि वर्षा कम हुँदा मूल फुट्न सकेको छैन,' उनले भने, 'पानी नपरेपछि जिल्लाभित्रका टारी खेतमा रोपाइँ हुन सकेको छैन ।'

एघार हजार दुई सय ६६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको भए पनि असारको अन्तिम सातासम्ममा यसपालि करिब छ हजार क्षेत्रफल जमिनमा मात्र रोपाइँ सकिएको प्रमुख अधिकारी बताए । अहिलेसम्म दरौदी फाँटहरूमा रोपाइँ धेरै भएको उनले बताए ।

'कुलो तथा सिँचाइको सुविधा भएका फाँट तथा खेतहरूमा भने रोपाइँ लगभग सकिएको छ,' प्रमुख अधिकारीले भने, 'त्यस बाहेकका क्षेत्रका किसानहरू रोपाइँका लागि आकाशे पानी कुर्नुपर्ने बाध्यता छ ।' 

पानी नपरेपछि रोपाइँ गर्न ढिलाइ भएको ज्यादुर फाँटका किसान वसन्त न्यौपाने बताउँछन् । 'आकाशे पानीको आवश्यकता नपर्ने ठाउँमा रोपाइँ गरेर भ्याइसकिएको छ,' उनले भने, 'आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेकाले यसपालि ज्यादुर फाँटमा अहिलेसम्म रोपाइँ गर्न सकिएको छैन, गत वर्ष यति नै बेला फाँटमा रोपाइँ सकिएको हुन्थ्यो  ।' पानी नपरेपछि रोपाइँ कहिले गर्ने भन्ने टुङ्गो नभएको न्यौपानेको भनाइ छ ।

भुसुण्डे फाँटका अर्का किसान बलबहादुर कुमाल पनि खेतमा रोपाइँ गर्न नपाएर चिन्तामा छन् । 'वर्षभरि सिङ्गो परिवारले पेट पाल्ने यही खेतको उब्जनीबाट हो,' उनले भने, 'अहिलेसम्म पानी नपर्दा रोपाइँ गर्न पाइने हो कि नपाइने हो भनेर पिर पर्न थालेको छ ।'

गोरखा जिल्लाभित्र छेपेटार, भुसुण्डे फाँट, ज्यादुर खोला, आरुघाट, ध्यालचोक, सिरानचोक र ध्याम्पेसाललगायतका स्थान धान खेती हुने क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र गोरखाका कृषि अधिकृत प्रमोद गैरेले जानकारी दिए । रासस