सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

अंग्रेजी फिल्मको दबदबाबीच हलमा ‘लुङा’

काठमाडौँ-  शुक्रबार प्रदर्शन अन्तर्गत नयाँ नेपाली चलचित्र ‘लुङा’ प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका हुन् । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारले अभिनय  गरेका छन् । चलचित्रलाई प्रेमकथा श्रेणीमा बनाएको निर्देशक राईले जनाएका छन् । 

 'यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ”, निर्देशक राईले भने । यसमा भुवन सिङ्ह राईले लेखेको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन्  । चलचित्रलाई  काठमाडौँमा जिजिए ग्रुप र रीच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।

यस्तै, दोस्रो सातामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालको दाबी छ । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका  खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् । 'एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ”, निर्देशक खनालको भनाइ छ ।  

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् ।