सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

अल-हिलालले एमबाप्पे भित्र्याउन कीर्तिमानी ३०० मिलियन युरो तिर्न तयार

काठमाडौँ- साउदी क्लब अल-हिलालले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर कायलियन एमबाप्पे भित्र्याउन विश्व कीर्तिमानी तीन सय मिलियन युरोको प्रस्ताव गरेको छ ।

स्काई स्पोर्ट्सले जनाएअनुसार एम्बाप्पे र पेरिस क्लब दुवैले साउदी क्लबसँग सर्तहरूमा सहमत भए फुटबल खेलाडीका लागि यो मूल्य विश्व कीर्तिमान हुनेछ ।

फ्रान्सेली स्ट्राइकर एमबाप्पेले पीएसजीसँग २०२४ सम्मको सम्झौता गरे पनि पीएसजीले उनलाई नसमेटेरै नयाँ सिजनका लागि तयारी गरिरहेको छ ।

एमबाप्पेलाई जापान र दक्षिण कोरिया भ्रमणका लागि पनि टिमबाट बाहिर राखिएको छ ।

पीएसजीले पछिल्लो पटक सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाका नेयमारलाई २२२ मिलियन यूरो रिलिज क्लजमा भित्र्याएर विश्व रेकर्ड आफैँले बनाएको थियो ।