'प्रविधिका कारण विद्यार्थीहरू रेडिमेड उत्तर खाेज्ने भएका छन्'

काठमाडौँ- प्रविधिकाे विकासले वर्तमान अवस्थामा विश्वलाई एउटै काेठाबाट नियाल्न सकिने भएकाे छ । काेशौँ टाढा रहेका आफन्तसँग यहीं प्रविधिकाे सहयाेगले छेउमै भए जसरी बातचित गर्न मिल्ने बनाएकाे छ ।
जसरी प्रविधिले विश्वलाई आधुनिकतातर्फ डाेर्याएकाे छ त्यसरी नै शिक्षण सिकाइलाई पनि यसले छाेएकाे छ । अहिले हरेक स्कुल तथा कलेजहरूमा इन्टरनेट र विभिन्न ग्याजेट्सहरूको प्रयोग गरी अध्ययन गराइन्छ । फलस्वरूप प्रविधि र शिक्षा एकै सिक्काका दुई पाटाजस्तै भएका छन् ।
तर, यहीं इन्टरनेट र ग्याजेट्सहरूको प्रयोगले भने बालबालिकाहरूमा सकारात्मक भन्दा पनि नकारात्मक असर पर्ने पाे हाे कि भन्दै चिन्ता व्यक्त गर्छन् नासा नेशनल सेकेन्डरी स्कुल/कलेजका डाइरेक्टर दशरथ श्रेष्ठ ।
शिक्षा क्षेत्रमा तीन दशकभन्दा लामो समय बिताएका उनी प्रविधिको बढ्दो प्रयोगले विद्यार्थीहरूमा सिर्जनशीलताकाे कमी हुने भन्दै चिन्तित देखिन्छन् ।
श्रेष्ठको अनुभवले विगतभन्दा वर्तमानमा शिक्षाको गुणस्तरमा ह्रास आएको देखाएको छ । सरकारले शिक्षासँग सम्बन्धित स्पष्ट नीति सार्वजनिक नगरेकै कारण यस्तो भएको हो कि भन्ने उनको आंकलन छ । विश्वव्यापी रूपमै परिकल्पना गरिएको जस्तो शिक्षा प्रणाली नेपालको परिप्रेक्षमा नभएको डाइरेक्टर श्रेष्ठको गुनासो छ ।
त्यस्तै शिक्षामा आफ्नो एक दशकभन्दा बढी अर्थात् १३औँ वर्ष पूरा गरिसकेको नासाले शिक्षाका विभिन्न सिकाइबुझाइका तरिकाको दर्शन गरिसकेको छ । कोभिडले सुरुवात गरेको प्रविधिमैत्री सिकाइ पनि यसमा समेटिएकाे छ ।
स्थानीय सरकारदेखि केन्द्रसम्म शिक्षासम्बन्धी स्पष्ट नीति बनाउन जरुरी रहेकाे श्रेष्ठ बताउँछन् । उनका अनुसार शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि यसमा चिन्तन गर्न जरुरी छ ।
स्थानीय निकाय र केन्द्रीय तहको भिन्नतालाई पाठ्यक्रमले एउटा सेतुका रूपमा लिएर सोही अनुरूपको पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको तर्क थियो । उनले भने, ‘ विद्यार्थीहरूलाई सीप सिकाउन जरुरी देखिन्छ । माथिकै संरचनामा मात्रै लागिरहेका छौँ । स–साना काम सिकाइका विषयमा समावेश गरिनुपर्छ । जीवन उपयोगी शिक्षा हामीले सिकाउन सकेका छैनौँ ।'
उनकाे भनाइ अनुसार एउटा प्लस टू अथवा स्नातक गरेको व्यक्तिलाई दैनिक जीविकोपार्जनका लागि आवश्यक सामान्यभन्दा सामान्य काम गर्न पनि नजानेको जस्तै देखिन्छ । सामान्य चिया पकाउनेदेखि लिएर सामान्य कामसमेत नजानेको देखिएको छ । एउटा सिलेबस त्यसमा पनि जिपिएको सिस्टमले सिर्जनशिलतामा प्रश्न उठाउन सकिने देखिएको छ । समग्रमा केही लेख्न जानोस् अथवा नजानोस् त्यो सबै पास नै भएको छ । यसले के कुरालाई निम्ता दिइरहेको छ र कस्तो शिक्षाको परिकल्पना गरिएको हो ?
शिक्षाको गुणस्तर र राेजगारी
वर्तमान स्थितिलाई नियाल्दा शिक्षाको गुणस्तर खस्केको र यसलाई उकास्न अनिवार्य देखिन्छ । काठमाडौँ महानगरपालिकाको ‘बुक फ्रि फ्राइडे’को उदाहरण दिँदै उनले त्यो एउटा सकारात्मक पहल भएको जिकिर गरेका छन् । उनले भने, ‘बुक फ्रि सँगसँगै प्राविधिक, व्यावसायिक र जीवन उपयोगी ज्ञान दिनु जरुरी छ । सिधा एउटा सर्टिफिकेट बोकेको भरमा हामी कहीँ पनि पुग्दैनौँ ।’
'अहिले अधिकांश विद्यार्थी प्लस टू सक्नेबित्तिकै विदेश जाने कुरा गर्छन् । र, जान्छन् पनि । न रोजगारीका लागि हामीले जनशक्ति नै तयार गरेका छौँ । न रोजगारको अवसर नै दिएका छौँ,' शिक्षाको लामो समयको अनुभव केलाउँदै उनले भने, 'शिक्षाकाे गुणस्तरमा ह्रास आएको अनुभव भएकाे छ ।
आफ्नो अनुभव सुनाउँदै उनी अगाडी भन्छन्, ‘भर्खर एसईई दिएर बसेको विद्यार्थीलाई गणितको एउटा सूत्र सोध्दा पनि अन्कनाउने अवस्था छ । हामीले कस्तो शिक्षा दिइरहेका छौँ ?’ कसरी आएको कुरा सिकाउने परिपाटी नै छैन । हामी सिकाउँदैनौँ, घोकाउँछौँ ।’
होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्प्युटर धेरै विषयहरू छन् । ति विषयहरू पढिसक्दा सम्बन्धित ठाउँमा सक्षम भएर काम गर्न जान सक्ने बनाउन जरुरी रहेको श्रेष्ठको ठम्याई छ । उनका अनुसार विद्यार्थीहरूलाई होटल म्यानेजमेन्ट वा कुनै पनि विषयमा ग्र्याजुऐट भएर बजारमा जाँदा सिधै काम गर्न सक्ने गरी तयार बनाउनुपर्ने कुनै पनि शैक्षिक संस्थाको दायित्व हुन्छ ।
एसईई थ्रेशहोल्डमा १.६ जिपिए र विद्यार्थीको गुणस्तर
विद्यार्थीका लागि १.६ जिपिए ल्याएर सबै विषय पढ्न पाउनु एक सुवर्ण अवसर हो । तर, उक्त अवसर सँगसँगै विद्यार्थीको गुणस्तरको पनि प्रश्न उठ्छ । १.६ ल्याउँदैमा त्यो विद्यार्थी कमजोर नै हो भन्न मिल्दैन यद्यपि ३.७ ल्याउने मात्रै सर्वोत्कृष्ट भन्ने हुँदैन उसले मात्रै डाक्टर र इन्जिनियरिङ गर्न सक्ने भन्ने होइन तर त्यसले कुनै न कुनै प्रभाव त पारिरहेकै हुन्छ ।
प्रवेश परीक्षा लिनु खासै जायज नदेखिए पनि छात्रवृत्तिकै लागि प्रवेश परीक्षा लिनुपर्ने उनको तर्क थियो । प्रवेश परीक्षाको मनासिव आधार छात्रवृत्ति हो । सरकारले कत्तिको योग्य छ भनेर पास गरेर पठाइसकेको छ । फेरि प्रवेश परीक्षा लिनु आवश्यक देखिँदैन ।
१.६ जिपिएलाई सरकारले बढाएर अलि बढी बनाएको भए विद्यार्थीले कक्षा १० मा मेहेनत गर्न सक्छन् । उनले भने, ‘विद्यार्थीलाई १.६ ल्याए पश्चात् जुन कुनै विषय पढ्न पाउने भन्ने सोच छ । सरकारले त्यो भन्दा बढी जिपिएको ‘मिनिमम थ्रेशहोल्ड ’ अलि बढी भएको भए विद्यार्थीले मेहेनत गर्छन् ।’
श्रेष्ठका अनुसार विद्यार्थीमा आजकाल सिर्जनशीलताको कमी देखिएको छ । केही लेख्नका लागि एआई प्रयोग गरेको देखिन्छ । आफ्नो सोचले भन्दा प्रविधिको सहयोगले लेख/रचना आउँछन् । उनले भने, ‘आजकल विद्यार्थीले एउटा निबन्ध राम्ररी लेख्न जानेको देखिँदैन । सामान्य भन्दा सामान्य निवेदन पनि लेख्न नजानेको देखिन्छ । ’
समग्रमा अहिलेको शिक्षा
प्रविधिका कारण विद्यार्थीहरूमा विश्वव्यापी शिक्षा ग्रहण गर्न अति नै सहज भएकाे छ । यद्यपि प्रविधिसँग मात्रै घुलमिल भएर किताबी ज्ञानलाई अहिलेको पुस्ताले उपेक्षा गरिरहेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘कोभिडले निम्त्याएको लकडाउनले गर्दा पठनपाठनमा अनेक रोकावट देखिन थाल्यो । नेपालका लागि अनलाइन शिक्षा प्रणाली चुनौतीपूर्ण थियो । प्रविधिले सिक्न/सिकाउन थालेपछि विद्यार्थीको अधिकांश समय अनलाइनमा बित्न थाल्यो । विभिन्न एपहरूको अत्यधिक प्रयोगले विद्यार्थीलाई वास्तविक सिकाइभन्दा पर लगेको श्रेष्ठको अनुभवले बताएको छ ।’
२१औँ शताब्दीमा प्रविधिलाई दोषारोपण गर्न नमिले पनि दोष दिनुपर्ने अवस्था आइपरेको उनको तर्क थियो । उनले भने, ‘प्रविधिको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएको देखिन्छ । विद्यार्थीहरू रेडिमेड उत्तर खोज्ने भएका छन् । अनावश्यक कुरामा आफ्नो समय व्यतीत गर्ने गरेको देखिन्छ ।’
‘विद्यार्थीलाई व्यावसायिक शिक्षा दिनलाई मेरो संस्थाले पनि जिम्मेवारी वहन गर्नुपर्छ । नासा कलेजको व्यवस्थापन विभागको डाइरेक्टर भएका नाताले मैले पनि मेरा विद्यार्थीलाई व्यावसायिक ज्ञान दिन अग्रसर गराउनुपर्छ । सिकाइबुझाइको पाटो त भयो नै,’ श्रेष्ठले भने ।

साढे ७ बजे सरकार र शिक्षक महासंघको वार्ता

वार्ता गरेनौँ, मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षक

निजी विद्यालयमा विद्यार्थी जान थालेपछि सिद्धेश्वर माविले थाल्यो पाठ्यपुस्तक वितरण

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब
कक्षा १२ को परीक्षा स्थगित

प्रतिक्रिया