सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

नेपाली सेनाप्रतिको अबुझ मनोविज्ञान

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको गौरवमय संस्था नेपाली सेनाको संख्याको विषय प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठकमा प्रवेश गराइयो । हो, रक्षा मन्त्रालयको विनियोजन विधेयकका बारेमा बहस गर्दा सेनाको विषय उठ्नु अस्वाभाविक होइन ।

विषयको उठान उपयुक्त समयमा सही ढंगले भएन कि भन्ने प्रश्न बौद्धिक जगत्मा उठेका छन् । आफूलाई संसार बुझेको ठान्ने र मुलुकको परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेको व्यक्तिसमेत सेनाले लडाइँ मात्रै गर्ने हो भन्ने मनोविज्ञानमा सीमित रहनुले उनीहरूको विज्ञतामा प्रश्न उठेको छ । जनताको नजरमा बढी क्रान्तिकारी बन्ने होडमा सेनाको मानमर्दन र भ्रम उत्पन्न गराउने कोसिस गर्नु बान्छनीय हुँदैन । 

सेना लडाइँका लागि मात्रै पालिएको होइन । हरेक विपद्मा अग्रपंक्तिमा खट्ने सैनिक शक्ति, प्राकृतिक सम्पदाको पहरेदार र विकास निर्माणको सारथि बन्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा नेपालको उपस्थिति परराष्ट्र सम्बन्धको उच्चतम् अभ्यास नभई संसारका अन्य देशका लागि उदाहरणीय नमुना पनि बनेको छ । नेपालको विकास निर्माण र अन्तर्राष्ट्रिय सम्बन्धमा सेनाको भूमिकालाई नजरअन्दाज गरिनु हुन्न । प्रधानमन्त्री प्रचण्डको राष्ट्रसंघीय महासचिवसँग हालै इटालीमा भएको भेट सेनाले आर्जन गरेको सम्बन्धको कडी हो । 

राजनीतिले कमजोर बनाएको अर्थतन्त्रसँग सेनाको साइनो जोडिनु बेतुकको विषय हो । विद्धान सांसदहरूको सार्वजनिक चासोको विषय सेनाको संख्या पुनरावलोकनमा केन्द्रित देखियो । उनीहरूले भनेझैं सेनाको संख्या बीस हजार घटाइयो, त्यसबाट नगण्य पैसा पनि बचत होला । त्यसले अर्थतन्त्रमा के प्रभाव पार्ला ? एउटा स्वाभिमान नेपालीको छोरा, जो ‘देश र नागरिकका पक्षमा वलिदान गर्न तयार भएर सेनामा भर्ती भएको छ । जसका कारण पाँचजनाको परिवार पालिएको छ । त्यसको जागिर खोसेर अर्थतन्त्र सुधारको पहल गर्ने कस्तो प्रस्ताव होला ?

एउटा सेनाले विशुद्ध राज्यले तोकेको तलब खान्छ । उसको अतिरिक्त भत्ता भन्ने केही पनि हुँदैन । विकास निर्माणमा रगत पसिना बगाएवापत थोरै रकम आर्जन गर्ला । सेना ब्यारेकभित्र समूहमा बस्छ । मेसमा खान्छ । तलब खाए पनि निरन्तर काम गरिरहेको हुन्छ । प्राकृतिक र अन्य विपत्तिमा ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिन्छ । नागरिकको उद्धार गर्छ, त्यसवापत उसले कुनै पैसा पाउँदैन । ब्यारेकभित्र त्यसै पालिएको भनिएका सेनाका जवानले मानवीय उद्धारमा गरेका कामका लागि छुट्टै दस्ता खडा गर्ने हो भने कति खर्च लाग्ला ? यसको हिसाबकिताब अर्थविद्ले राखेका छन् ? 

एउटा सेनाको सिपाहीसँग निजामती प्रशासन र राजनीतिज्ञको खर्च तुलना हुन सक्छ ? एउटा राजनीतिज्ञ पाल्न राज्यले कति खर्च गरेको छ, त्यसको हिसाबकिताब किन गरिँदैन ? मुलुकको अर्थतन्त्र कमजोर बनाउने काम प्रशासन र राजनीतिज्ञबाट भएको छ । भ्रष्टाचार राजनीति र प्रशासनले बीजारोपण गरेको होइन र ?

राजनीति र प्रशासनको साख आज किन ओरालो लागिरहेको छ ? संघीयता नराम्रो व्यवस्था होइन तर राजनीति र प्रशासनले यसलाई बदनाम बनाएको छ । नत्र यति छिट्टै संघीयता खारेजीको माग किन उठ्यो ? संवैधानिक अंग कसले कमजोर बनायो ? संसद्को ओज किन घटिरहेको छ ? मुलुकको परराष्ट्र नीति यसअघि यति कमजोर कहिल्यै भएको थियो ? यी विषयमा बहस नगरेर नेपाली सेनाको संख्याको विषयमा विवाद झिक्नु न्यायसंगत हुँदैन । 

एउटा राजनीतिज्ञ पाल्न राज्यले कति लगानी गरेको छ, त्यसको हिसाबकिताब अर्थशास्त्रीले राखेका छन् ? संघीय संसद् र परिणाम दिन नसकेको प्रदेश सांसदको संख्या घटाउनेतिर किन आवाज उठाइँदैन ? सबैको रोजाइ र भरोसाको केन्द्र बनेको सैनिक संगठनको विरोधमा किन आवाज मुखरित गरिँदैछ ? 

शान्ति सेनाको योगदानको प्रतिफल मुलुकमा ठूलो परिणाममा विदेशी मुद्रा भित्रिएको छ । एउटा सैनिक जवान शान्ति सेनामा गएवापत उसले पाउने निश्चित प्रतिशत रकम कट्टा गरी त्यसैबाट सिर्जित सैनिक कल्याणकारी कोषबाट आज बहालवाला र पूर्व गरी झन्डै दश लाख हिताधिकारी लाभान्वित भएका छन् । यहाँ संख्या घटाउने विषय भन्दा पनि दश लाखको रोजीरोटीसँग खेलबाड गर्ने काम भएको छ । यो स्वतःस्फूर्त आएको हो कि कसैको निर्देशनमा, यसको छिनोफानो हुनुपर्छ ।

नेपाली सेना शान्ति सेनामा गएवापत विदेशी मुद्रा मात्र आर्जन भएको छैन अन्तर्राष्ट्रिय ज्ञान र प्रविधिसमेत भित्रिएको छ । अन्तर्राष्ट्रिय ज्ञान र त्यहाँ सिकेको सीप पैसाले किन्न सकिन्छ ? त्यसले राष्ट्रिय क्षमता विकासमा समेत टेवा पुर्‍याएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा मुलुकको साख जोगाएको सैनिक संगठनको विरोध गर्नु आफ्नी आमाको छातीमा लात हान्नुबराबर हो, जुन संगठनले स्थापनाकालीन इतिहासदेखि देश र जनताको पक्षमा न्याय गरिरहेको छ । 

यहाँनेर एउटा फरक प्रसंग उद्धृत गर्नु सान्दर्भिक लाग्यो । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हालै एउटा ‘गभर्नेन्स सर्वे’ गरेको थियो । सर्वेमा १२ हजार व्यक्तिलाई सहभागी गराइएको थियो । प्रश्न थियो, तपाईं नेपालका कुन संस्थालाई बढी विश्वास गर्नु हुन्छ ? सर्वेमा प्रधानमन्त्री कार्यालय, राजनीतिज्ञ, निजामती प्रशासन, पालिकाहरू, मिडिया र नेपाली सेनामध्ये एकलाई रोज्न भनिएको थियो ।

मुलुकको पहिचान कायम राख्न देशविदेशमा अहोरात्र खटिरहेको सेनाको साख गिराउन लाग्नु कुनै हिसाबबाट पनि क्षम्य हुन सक्दैन ।

बहुसंख्यकले सबैभन्दा बढी विश्वास गरिने संस्था भनेर नेपाली सेनालाई रोजे । नेपाली सेनाले ३५ अंक प्राप्त गर्‍यो  । सेनाको अन्य प्रतिस्पर्धीले २० प्रतिशत भन्दा तलको अंक मात्र प्राप्त गरे । नेपाली जनताले कसलाई ‘ट्रस्ट’ गरेका रहेछन् त ? यो मुलुकको भरोसाको शक्ति भनेको नेपाली सेनामात्रै रहेछ भन्ने प्रमाण होइन र ? सेनाको संख्याको विषयमा प्रश्न उठाउनुअघि यसलाई किन मध्यनजर गरिएन ? 

राजाको शासनकालमा सेना दरबारको हो भन्ने गरिन्थ्यो । राजतन्त्रको अन्त्य सँगसँगै त्यो ‘ट्याग’ पनि समाप्त भयो । राजाको मात्रै भनिँदा पनि सेनाले आपत्विपत्मा अग्रपंक्तिमा खटिएर काम गरिरहेको 
थियो, जो आज पनि गरिरहेको छ । संविधानतः दिएको जिम्मेवारी पूरा गर्ने संगठन सायद नेपाली सेनामात्रै होला । सेना ठूलो भएका कारण अर्थतन्त्रमा प्रभाव परेको भन्नुको वस्तुगत आधार के हुन सक्छ ? संसारले क्षमता प्रदर्शनकै कारण स्वीकार गरेको र मुलुकका लागि यतिबेला कुनै पनि कोणबाट सन्दर्भको विषय नरहेको सेनाको संख्या घटाउने बहसभित्र पूर्वाग्रह लुकेको आभास हुन्छ । मुलुकको पहिचान कायम राख्न देशविदेशमा अहोरात्र खटिरहेको सेनाको साख गिराउन लाग्नु कुनै हिसाबबाट पनि क्षम्य हुन सक्दैन । 

मुलुकको एकीकरण अभियानदेखि आजसम्म नेपाली सेनाले आफ्नो भूमिकामा कसैलाई प्रश्न उठाउने ठाउँ दिएको छैन । आफूलाई कामबाटै परिपक्व संगठनका रूपमा स्थापित गरेको छ । यस्तो संगठनको संवेदनशीलतालाई अरूले बुझुन् नबुझुन् आफूलाई नेपाली आमाको छोरो भनेर गौरव गर्नेले बुझ्न जरुरी छ । 

एकजना परराष्ट्रमन्त्री भइसकेकी माननीयले सैनिक संख्याबारे प्रश्न उठाउँदा आफूमाथि सामाजिक सञ्जालमा असभ्य व्यवहार प्रदर्शन भएको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, दलका प्रबुद्ध नेताहरूबाट पनि सुझाव आउन थाल्यो, ‘सामाजिक सञ्जालमा विरोध भएको छ, सेनाको विषयमा संसद्मा नबोल्नु राम्रो  । यो प्रतिक्रिया समाज असहिष्णु र असभ्य बनेर आएको नभई संविधानले दिएको जिम्मेवारी पूरा गर्ने एकमात्र सैनिक संगठनको विरोधमा प्रस्तुत भएकै कारण आएको हो ।

राष्ट्रियता, राष्ट्रिय अखण्डता, मुलुकको स्वाभिमान, संस्कृति र परम्पराको रक्षार्थ दृढ भएर लागेको संगठनको विरोधमा उत्रिँदा आउने प्रतिक्रिया कदापि समाजविरोधी हुन सक्दैनन् । मुलुकको अस्मितामाथि प्रहार हुँदा एउटा स्वाभिमानी नेपालीले नबोलेर कसले बोल्ने ? युद्धमोर्चामा दृढ भई अघि बढेको सेनालाई पछाडिबाट प्रहार गर्ने कि शत्रुलाई परास्त गर्न थप शक्ति प्रदान गर्ने ?