शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

नयाँ बार्सिलोनामा नअट्ने रोनाल्ड कुमन

काठमाडौँ : किके सेटियनलाई बर्खास्त गरेपछि बार्सिलोनाको नजरमा परे, रोनाल्ड कुमन । आफ्ना पूर्व खेलाडी कुमनलाई प्रशिक्षक बनाएपछि तत्कालिन बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्तामोउको भनाइ थियो, ‘कुमनले बार्सिलोनालाई बुझेका छन् । त्यसकारण उनलाई प्रशिक्षक बनाइएको हो,।’ 

कुमनले बार्सिलोनामा सन्तोषजनक काम गरेका छन् । उनले क्लबको प्रदर्शनमा एक हदसम्म स्थिरता ल्याएका छन् । कोपा डेल रेको उपाधि जिताएका छन् । उनको प्रशिक्षणमा लियोनल मेस्सीको प्रदर्शन असाध्य राम्रो रहेको छ । त्यसकारण यसो भन्न सकिन्छ, कुमनले आफ्नो ठाउँबाट सकेको गरेका छन् । तर उनको प्रयास पर्याप्त मानिएको छैन । कारण ? ला लिगा उपाधि होडमा पछाडि परेकाले । म्याड्रिडका दुई क्लबले उपाधि दौडमा बार्सिलोनालाई उछिनेका छन् । क्याट्लन क्लब तेस्रो स्थानमा सिमित भएको छ । त्यसैले, बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्ताले भनेका छन्, ‘बार्सिलोनामा अब नयाँ चक्र सुरु हुन्छ।’


कुमनले तेस्रो स्थान प्राप्तीलाई सकारात्मक नतिजाका रुपमा लिएका छन् । उसो त सिजनको सुरुवातमा बार्सलोनाले लिग जित्छ भन्ने अपेक्षा थिएन । गत जनवरीमा कुमन आफैँले पनि बार्सिलोना महत्वपूर्ण उपाधि जित्न तयार नभइसकेको बताएका थिए । यद्यपि सिजनको सुरुवात भने बार्सिलोनाले बलियो ढङ्गले गरेको थियो । सुरुका चार लिग खेल जित्दा १३ गोल गर्दा दुई गोल मात्रै खायो । अक्टोबर महिनामा भने बार्सिलोनाको लय खस्कियो । खेलेका चार खेलमध्ये एकमा पनि जित दर्ता गरेन । सिजनको मध्यतिर बार्सिलोनाको लय उत्कर्षमा पुग्यो । लगातार १७ लिग खेलमा अपराजित रह्यो । जसका कारण बार्सिलोनामा लिग जितिन्छ की भन्ने विश्वास पलायो । गत साता सेल्टा भिगोसँग पराजित हुनुअघि सम्म पनि बर्सिलोना उपाधि होडमै थियो । 

बार्सिलोनामा कुमनले खेलाडीका रुपमा नाम बनाइसकेका थिए । प्रशिक्षक बनेर क्याम्प नौउमा पुग्दा कुमनलाई न्यानो स्वागत गरियो । उपाधि जित्ने लक्ष्य बाहेक कुमनका अगाडि अर्को जिम्मेवारी पनि थियो,  लियोनल मेस्सीलाई खुशी बनाउने । क्लबले लुइस स्वारेजलाई एथ्लेटिको म्याड्रिड जान दिएपछि, मेस्सी बेखुश थिए । कुमनलाई युवा खेलाडीको उपयोग गर्न भनियो । किनभने बार्सिलोनासँग स्थापित स्टार किन्न पर्याप्त बजेट थिएन । कुमन सबै लक्ष्य र जिम्मेवारीमा खरो उत्रिए । मेस्सी लिगमा उच्च गोलकर्ता बनेका छन् भने केही युवा खेलाडीले आकर्षक प्रदर्शन गरेका छन् । पेड्री, इलेक्स मोरिबास, ओस्कार मिनगुएजा जस्ता युवा खेलाडीले आफूहरू प्रतिभाशाली रहेको सन्देश दिएका छन् । 

त्यसो त कुमनका कमजोरी पनि नदेखिएका होइनन् । विशेषगरी ठूला क्लबसँगको भिडन्तमा कुमन कमजोर देखिए । एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिसँग चार खेल खेल्दा जम्मा एक अंक मात्रै दिलाए । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेल गुमाए । ती खेल दौरान उनले गरेका खेलाडी परिवर्तन गर्दा सही निर्णय लिन नसकेको देखियो । अनि खेल हार्दा नतिजा स्विकार्ने भन्दा रेफ्री र भीएआरमाथि आरोप लगाइरहे । 

मेस्सीको बलियो लयको मद्दतले बार्सिलोनाले लिगमा सबैभन्दा धेरै गोल गरेको छ । तर रक्षापंक्तिमा भने बार्सिलोना चुकेको देखियो । क्याट्लन क्लबले ३७ खेलमा ३८ गोल खाएको छ । जुन शीर्षस्थानको एथ्लेटिकोको भन्दा १४ गोल बढी हो । अनि रियलको भन्दा ११ गोल बढी । चौथो स्थानमा रहेको सेभिल्लाले पनि बार्सिलोनाले भन्दा पाँच गोल कम खाएको छ । 

रक्षापंक्तिमा कमजोर देखिएका बार्सिलोना खेलाडीहरूले दबाब थेग्न सकेनन् । ठूला टिमसँग खेल्दा सजिलै गोल खााए । उसो त कुमनले पनि दबाब थेग्न सकेनन् । बार्सिलोनामा परेको प्वाल टाल्न सफल त भए तर बलियो बनाएर उपाधि जिताउने सामथ्र्य भने देखाउन सकेनन् । त्यसैले यहाँ लापोर्ताको भनाइ याद गर्नुपर्ने हुन्छ, जसले भनेका छन्, ‘नयाँ निर्णय गर्ने बेला भएको छ ।’