सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

धम्की दिएर व्यवसाय बन्द गराउन खोज्ने नेपाल कम्युनिष्ट पार्टी काठमाडौंका जिल्ला सेक्रेटरी पक्राउ

फाइल फोटो

काठमाडौं -  डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय दिपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

मानन्धरले काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भन्ने मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं दरवारमार्गबाट पक्राउ गरेको हो । 

उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।