मधेशमा बाढीको कहर : एकको मृत्यु, तीनजना बेपत्ता
कयौं ठाउँमा डुबान

जनकपुरधाम- लामो समयदेखि वर्षा नभएका कारण मधेश प्रदेशमा खडेरी नै परेको थियो । तर, साेमबारदेखि भएको वर्षाले मधेशमा बाढीको कहर नै आएको अवस्था छ ।
हिजोदेखि परेको अविरल वर्षाले नदीहरूमा पानीको बहाव बढेपछि मधेशका कयौं ठाउँमा हाइअलर्ट घोषणा गरिएको छ । पहाडमा समेत अविरल वर्षा भएपछि नदीहरूमा भएको उच्च बहावले धनुषासहित मधेशका कयौं जिल्लामा जलमग्न भई गाउँहरू डुबानमा परेको छ भने कयौं स्थान डुबानको खतरामा परेको छ ।
अविरल वर्षाका कारण धनुषाको नदीहरूमा बढेको बहावका कारण आएको बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने एक दम्पती बाढीमा बगेर बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार मिथिला नगरपालिकास्थित बसही खोलाले बगाउँदा आनन्दपुर बस्ने अजयकुमार यादवको मृत्यु भएको हो । गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जनाएका छन् ।
मंगलबार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरिए पनि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै धनुषाको कमला नदीमा आएको बाढीमा एक दम्पती बेपत्ता भएका छन् । मंगलबार दिउँसो कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा श्रीमान्-श्रीमती बेपत्ता भएका हुन् । गणेशमानचारनाथ नगरपालिका-७ पोर्ताहा ब्यारेज नजिक स्थानीय ३५ वर्षीय साजन परियार र माया परियारलाई नदीले बेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
बेपत्ता भएका श्रीमान्-श्रीमतीलाई खोजी गर्नका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढिरहेको छ । स्थानीय प्रशासनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । हालसम्म नदीको बहाव सामान्य रहे पनि सिन्धुलीतिर अझै वर्षा भइरहेकाले जलस्तर अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
उनका अनुसार अहिलेसम्म जोखिमको अवस्था भने छैन । गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा पुरानो बस्तीमा भएको एउटा फुसको घरमा सामान्य क्षति भएको उनले बताए । पानीले घरको भित्ता भत्किँदा घरधनी कमल पासमान सामान्य घाइते भएको प्रजिअ दाहालको भनाइ छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
यता, महोत्तरीको कयौं ठाउँ डुबानमा परेका छा् भने बाढीमा बगेर एक जना बेपत्ता भएका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले दिएको जानकारी अनुसार रातो खोलामा आएको बाढीका कारण बलवा नगरपालिकाको वडा नम्बर १ बन्चौरीमा कटान गरी केही घरमा पानी पसेको छ ।
यस्तै लोहारपट्टी नगरपालिका-४ र भंगहा नगरपालिका बर्दिबास नगरपालिकामा समेत कयौं ठाउँमा रातो नदीले कटान गरेको छ । जिल्लाको सोनमा गाउँपालिकाको रघुनाथपुर गाउँस्थित खोलामा बगेर ३८ वर्षीय जाबिर अन्सारी भन्ने व्यक्ति बेपत्ता भएको खबर आएको र उनको उद्धार गर्न खोजी कार्य जारी रहेको प्रजिअ पहाडीले बताए ।
जिल्लामा बाढीबाट हुने क्षतिको जोखिम नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समितिले उद्धार टोली र राहत सामग्री वितरण तयार अवस्थामा राख्ने निर्णय भएको उनले उल्लेख गरे ।
त्यस्तै सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरूलाई सतर्कता अपनाउन उनले आग्रह गरे ।
उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर, पनि वृन्दावन नगरपालिका वडा नं १ मा बागमती खोलाको स्थान ठूलो रहेकाले साे आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएका छन् । त्यस आसपास तटबन्ध खोलापट्टी घर बनाएर १५–२० जना बसिरहेका छन् । उनीहरू डुबानमा पर्ने बुझिएकाले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले बताए ।
बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६.८ मिटर पार गरेर ७.८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन । बाराको बकैया खोलामा समेत बाढी आएको छ । जसका कारण आसपासका बस्तीहरू जोखिममा परेका छन् ।
यस्तै धनसार, शक्ति, बगर खोला र भमरा खोलामा पनि पानीको बहाव ह्वातै बढेर कटान सुरु गरेसँगै स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोलीले तत्कालका लागि तारजाली लगाउने काम सुरु गरेको छ ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्कालका लागि विपतबाट बच्न स्थानीय प्रहरी, प्रशासनको सहयोगमा बकैया खोलाको ३ सय मिटर उत्तरतर्फ तारजाली लगाउने काम भइरहेको जानकारी दिए ।
बाराको १६ वटा पालिकामध्ये उत्तरमा चुरेभावरसँग जोडिएको निजगढ नगरपालिकाभित्र मात्रै साना–ठूला गरी एक दर्जन बढी खोलाहरू छन् । जसमा वर्षाले सबैभन्दा छिटो नोक्सान पुर्याउने गर्दछ । प्रमुख पुरीले बाढी बस्तीमा पस्नबाट जोगाउन तत्कालै विपत व्यवस्थापन समितिको बैठक बसेर ठोस् निर्णय गर्ने बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लगातारको वर्षाले निजगढ नगरपालिका र आदर्शको तवाल गाउँपालिकामा केही क्षति भए पनि अन्यत्र भने अवस्था सामान्य रहेको जानकारी दिए । प्रजिअ सापकोटाले बुधबार जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेर जोखिमका आधारमा थप निर्णय गर्ने बताए ।
त्यस्तै लगातारको वर्षापछि चन्द्रपुर–१ स्थित बागमती नदीमा आएको बाढीले मंगलबार नुनथर क्षेत्र डुबानमा पारेको छ । वर्षाले अन्य भागको जनजीवन समेत प्रभावित भएको छ । लालबकैया र बागमतीमा पानीको सतह बढेको स्थानीय प्रशासनले जनाएको छ । प्रशासन र सुरक्षा अधिकारीको टोली डुबान र बाढी आउन सक्ने क्षेत्रको निरीक्षणका लागि निस्किएको छ ।
नुनथर क्षेत्रको पूर्वपट्टी रहेका पसल, घरहरू डुबानमा परेका छन् भने अहिले त्यस क्षेत्रका स्थानीय पश्चिमतर्फको अग्लो क्षेत्रमा बसेका छन् । बागमती नदीमा आएको बाढीले नुनथर क्षेत्र डुबानमा पारेको इलाका प्रहरी चन्द्रनिगाहापुरले जानकारी दिएको छ ।

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया