शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

डा. महतले लगाए तरकारीमा विषादी परीक्षण रोक

तत्कालीन केपी ओलीको मन्त्रिपरिषद्ले २०७६ जेठ १० गते भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गर्ने निर्णय गर्‍यो । त्यो निर्णयको सूचना राजपत्रमै प्रकाशित भयो, सोही वर्षको असार २ गते र भनियो, ‘भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गर्ने ।’

यस्तो निर्णय गर्ने ओली सरकारले निर्णय गरेको एक महिना पनि टिक्न सकेन । उसले २०७६ असार १८ गते आफ्नो निर्णयबाट पछि हट्यो अनि त्यसको भोलिपल्ट ‘पूर्वाधार नभएकोले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रयोगशाला स्थापना गर्ने’ निर्णय मन्त्रिपरिषद्‌बाट गराएर सदाका लागि यो विषयबाट पन्छियो । भारतीय दूतावासले पत्र नै लेखेर अनौपचारिक रुपमा दबाब दिएको थियो । ओली सरकारले यस्तो निर्णय गरेर फिर्ता लिएको वर्ष मुलुकमा २८ अर्ब ६६ करोड रुपैयाँको तरकारी आयात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब ५४ करोड रुपैयाँको तरकारी आयात भयो । गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामै १७ अर्ब ४ करोड रुपैयाँको तरकारी आयात भयो । 

नाकामै परीक्षण गर्दा परीक्षमा उत्रन नसक्ने तरिकारीहरु सीमामै रोकिन्थे । त्यो त भएन नै । देशका विभिन्न सात प्रमुख तरकारी बजारमा विगत नौ वर्षदेखि ‘विषादी अवशेष द्रूत परीक्षण’ भने हुँदै आएको थियो । यसले पनि केही हदसम्म नेपालीका भान्सामा विषादीयुक्त तरकारीलाई रोक्थ्यो । तर अर्थमन्त्री डा. प्रकाशशरण महतलाई विषादी परीक्षण गरेको मन परेको रहेनछ । उनले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट त्यस्तो परीक्षण गर्ने कार्य रोकाउन बजेट नै कटौती गरिदिए । जसले गर्दा गत साउन १२ गतेदेखि बजेट अभावमा विषादी परीक्षण हुन पाएको छैन । काठमाडौंको कालीमाटी, झापाको बिर्तामोड, पोखरा, नेपालगञ्ज, अत्तरिया, बुटबल र लालबन्दीमा त्यस्ता दू्रत परीक्षण प्रयोगशालासहित जनशक्तिको बन्दोबस्ती गरिएको थियो ।

डा. महतले ती परीक्षण प्रयोगशालामा कार्यरत करारमा रहेका कर्मचारीका तलब, भत्ता काटिदिएनन् मात्रै, किट पनि रोकिदिए । अहिले साउन १२ गतेयता आयातीत र आन्तरिक उत्पादित तरकारी उपभोग गर्ने प्रत्येक नेपालीको भान्सामा विषादी पुगेको छ । विषादीले मुटु, कलेजो र मृगौलालगायतका गम्भीर रोग तथा क्यान्सर हुनेमा विज्ञहरु सचेत गराउँदै आएका थिए ।

भारतले पठाउने तरकारीमा विषादीको मात्रा परीक्षण नगर्न नगराउने खुलेरै दबाब दिएकै थियो । अहिले महतको यो कृत्य पनि कतै भारतीय इसारामा भएको त होइन भन्ने आशंकालाई मलजल गरेको छ । सत्तामा बस्नेहरु भारतलाई रिझाउन अनेक कृत्य, कुकृत्य गर्छन् । त्यहीमध्येको डा. महतको यो निर्णय कुकृत्यभित्र पर्छ । अनि डा. महतको मूर्खता देख्दा टीठ लागेर आउँछ । डा. महतको भान्छामा पनि यही यही आयाती तरकारी पाक्ने हो । उनका कर्मचारीले विषादी परीक्षण गरेर त ल्याउने होइन होला । महतले आम नेपाली जनतालाई विषादी त खुवाए नै आफू र आफ्ना परिवारलाई पनि विषादी खुवाइरहेका छन् । 

सांसद विकास कोष बिउँत्याउने, देउवा र दाहालको निर्वाचनमा क्षेत्रमा अर्बाैंको बजेट ओइर्‍याउने, आलु र प्याजमा भ्याट लगाउने, लगायत जनतालाई कर लगाउन कुनै पनि ठाउँ बाँकी नराख्ने महतले तरकारीजस्तो नभई नहुने वस्तुमा गरिंदै आएको विषादी परीक्षण रोकाएर भारतलाई खुसी पारेका छन् । अझ उनका बजेटले यस्ता कति ठाउँमा असर परेको छ, ती पनि बिस्तारै खुल्दै आउलान् ।

तरकारीमा विषादी त भारतका किसानले मात्र होइन, नेपालकै किसानले पनि हाल्छन्, जैविक विषादी होइन, त्यो पनि रासायनिक नै । विषादी परीक्षणलाई नाकामै अनिवार्य गर्नुपर्नेमा भइरहेको ठाउँमा पनि बन्द गराउनु जनघाती निर्णय हो । यसमा प्रधानमन्त्रीले हस्तक्षेप गरी कटौती गरेको बजेट तत्काल फिरौती गरी प्रयोगशाला सञ्चालनमा ल्याउन पर्छ । अनि डा. महतले पनि बुझ्नुपर्छ कि विषादी परीक्षण नगरिएका तरकारीले आफूलाई पनि एकदिन सिध्याउँछ भनेर । किनभने क्यान्सर लागेपछि सामान्यतया निको हुँदैन ।