ल्हारक्याल लामाले लुम्बिनीमा गरे पदभार ग्रहण
उनले भने : बदनाम हुने कुनै काम गर्ने छैन

बुटवल- नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बिहीबार पदभार ग्रहण गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभार ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् । चौतर्फी आलोचनाका बीच लामाको पदभार ग्रहणलाई महत्वका साथ हेरिएको छ ।
उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे । उपाध्यक्ष लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् ।
पदभार ग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उँचो राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतमबुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।
उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने जिकिर गरे । उनले बुद्ध जन्मस्थललाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरूसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने प्रतिबद्धता सकेत व्यक्त गरे । ‘मान्छे हो, कहिलेकाहीँ बुझाइमा समस्या हुन सक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्ने छैन,’ उनले भने ।
उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए ।
यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि पुष्मकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले साउन १६ गते डा.लामालाई उपाध्यक्षका रूपमा नियुक्त गरेको हो ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया