मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । 

जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकहरूलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र १३० जना भन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बताए । उनले सो सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनी समेत दिए ।​

जसपाले सो हत्याकाण्डमा तत्कालीन माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ । प्रवक्ता सुमनले राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरकार आफैँले गठन गरेको विभिन्न आयोगहरूले पनि सो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भए पनि सरकारले आफ्नो पार्टीप्रति प्रतिशोध राखेर गौर हत्याकाण्डका पीडितसँग साउन २३ गते सम्झौता गरेको आरोप लगाए ।

जसपाले सो हत्याकाण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न पनि सरकारलाई दबाब दिएको छ ।