अवरूद्ध भीमदत्त राजमार्ग नखुल्दा ७ जिल्लामा दैनिक उपभोग्य सामान अभाव

कैलाली- सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको झण्डै हप्ता दिन हुँदा समेत खुल्ने सम्भावना देखिएको छैन । पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले पनि सुदूरपश्चिममा भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन भने निकै प्रभावित भएको छ । कैलालीको बुढीतोलामा सोमबार राति गएको पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरू डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लामा ढुवानीका साधनहरू नचल्दा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको छ । त्यस्तै पहाडी जिल्लामा उत्पादित गोलभेडा, काउली, आलु, सिमी, बन्दालगायतका तरकारीहरू तराई आउने गर्छ ।
तराईतिर झर्ने यात्रुहरूले आफ्नो यात्रा स्थगित गरिरहेका छन् भने तराई अत्यावश्यक कामले नआइ नहुने पहाडी जिल्लाका यात्रुहरू, विरामी बोकेका एम्बुलेन्सहरू बुढीतोलासम्म पुग्ने गरेका छन् । एम्बुलेन्समा ल्याइएका विरामीलाई सुरक्षाकर्मी र भेटिएका सहयोगीहरूद्वारा जोखिम मोलेर स्ट्रेचरमा पहिरो क्षेत्रमाथिबाट बोकेर ल्याउनु परिरहेको छ । सयौंको संख्यामा सवारी साधनहरू बुढीतोला र खानीडाँडामा रोकिएका स्थानीय प्रकाश देउवाले बताए ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले शुक्रबारसम्ममा एकतर्फी सडक खोल्ने प्रयास गरिएको भएपनि वर्षाका कारण सम्भव नभएको बताए । उनले लगभग ८० प्रतिशत काम सप्पन्न भएको अवस्थामा शुक्रबार दिउसो फेरि वर्षा भएकाले मर्मत गरेको सडक खण्डमा पुन: पहिरो आउदा समस्या भएको बताए ।
एक सय मिटर सडकको पुरै बेस नै बगेकाले मर्मत गर्न निकै कठिन भएको बताउदै सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले तीन सय मिटर जति सडक माथिबाट आएको पहिरोमा परेको बताए । उनले माथिबाट आएको पहिरो पन्छाउने काम गर्दा वर्षा र पानीको मुहान भएकाले पहिरो निरन्तर बगिरहेको जानकारी दिए ।
यसैबीच सडक विभागबाट पहिरो विशेषज्ञसहितको टोली बुढीतोला पुगेर प्रारम्भिक अध्ययन समेत गरेको प्रमुख सुवेदीके बताए । सडक विभागका सुपरिटेन्डिङ इन्जिनियर विनोद कुमार मौवार नेतृत्वको टोलीमा पहिरो विशषज्ञ डाक्टर मधुसुदन आचार्यसहितको टोलीले पहिरो प्रभावित सडक क्षेत्रको स्थलगत अनुगमन गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले बताए ।
पानी पर्न रोकिए शनिबार साझसम्ममा हलुका सवारीसाधन संचालनमा आउने बताउदै सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले अहिले पाँचओटा डोजले पहिरो पन्छाउने र नयाँ ट्र्याक खोल्ने काम भैरहेको बताए ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया