रत्नपार्कमा देखिने हरेक युवामा ‘जुलेबी’ को ‘छमान’ भेटिन्छ

काठमाडौं - ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा मुख्य भूमिकामा ७ पात्रहरु छन् । सुशील यिनै सात मध्येका एक हुन् ।
सुशीलले फिल्ममा डोटीबाट काठमाडौं आएको ‘छमान’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । सुशील फिल्म हेरिरहँदा त्यहाँका पात्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग रिलेट गर्न सक्ने विश्वास लिएका छन् । ‘रत्नपार्कमा भिडभाड देख्छौं । कसैले कसैलाई चिन्दैनौं । त्यही रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने, बागबजारमा काम गर्ने केटा हो छमान । जसले आफ्नै फरक कथा बोकेर आएको छ’ सुशील फिल्ममा आफ्नो भूमिका प्रष्टयाउँछन् ।
निर्देशक गणेशदेव पाण्डेको यसअघिको फिल्म ‘गाँजाबाजा’मा पनि थिए सुशील । उनै पाण्डेले एक दिन ‘जुलेबी’ अफर गरे। क्यारेक्टरबारे बताए । यसअघि क्यारेक्टर उस्तै–उस्तै भएर सुशीलले केही फिल्म छाडेका थिए । तर ‘जुलेबी’ मा निर्देशक पाण्डेले सुनाएको भूमिका बिल्कुलै फरक थियो । उनले ल भन्न कत्तिबेर पनि लगाएनन् । सुशील दाबीका साथ भन्छन् – ‘नेपाली फिल्ममा मलाई अहिलेसम्म नदेख्नुभएको क्यारेक्टर यसमा देख्नुहुनेछ ।’
फिल्मको छायांकन गुरिल्ला स्टाइलमा भएको सुशील बताउँछन् । रत्नपार्कमा उपस्थित मानिसहरुले सुटिङ चलिरहेको खास्सै पत्तो पाएनन् । कलाकारहरु निश्चित ठाउँमा गएर उभिन्थे, निर्माण टिमको एकजना साइडबाट एक्सन भनेर क्रस हुन्थे । टाढाबाट क्यामेराले खिचिरहेको हुन्थ्यो ।
‘यसरी काम गर्दाका अनुभव चखिलो रह्यो । दर्शकलाई कस्तो लाग्छ,हामी पनि जान्न उत्सुक छौँ ’ उनले भने ।
'होस्टेल रिटर्नस्' अभिनेता सुशीलको पहिलो फिल्म हो । यद्यपि, त्यसपछि उनका धेरै फिल्म प्रदर्शनमा आइसके । ती फिल्ममा उनले फरक फरक क्यारेक्टर निर्वाह गरे । आफूले हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको उनी बताउँछन् ।
‘जुलेबी’मा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । सबै कलाकारहरुले फिल्ममा राम्रो अभिनय गरेको सुशील बताउँछन् । फिल्मको टिजर, ट्रेलरलाई लिएर दर्शकहरुबाट एक खालको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । नयाँ स्वादको फिल्म आएको भन्दै दर्शकले रुचि देखाएका छन् । अब व्यापार कस्तो गर्ने हो ? त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ । ‘मुख्य भनेको दर्शक हो । फिल्म उहाँहरुलाई मन पर्नुपर्यो । कतिपय फिल्मको ट्रेलरले त्यति बज गरिरहेको हुँदैन । तर, प्रदर्शनमा आइसकेपछि माउथ पब्लिसिटीका कारण राम्रो भएका कतिपय फिल्महरु पनि छन्’ सुशील भन्छन्, ‘'जुलेबी’को सन्दर्भमा पनि राम्रो हुने भाइब्स आइरहेको छ । एकपटक हेरिसकेका दर्शकले दोहोर्याई तेर्याही हेर्छन् जस्तो लागिरहेको छ ।’

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया