भदौ १ गते ओल्के पर्व, सुदूरपश्चिम सरकारले दियो सार्वजनिक बिदा

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते शुक्रबार सार्वजनिक बिदा दिइएको छ । भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । उक्त दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ । ओल्के मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदूरपश्चिमेलीहरू स्वदेश फर्कन थालेका छन् ।
साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहि आएको छ ।
ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, छोरीचेलीहरूलाई घरमा बोलाएर मीठो/मसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
ओल्के संक्रान्ति पर्व
पर्व विशेषमा ओल्कोका रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ । लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ । यतिमात्रै होइन, गुठियारहरूले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन् । विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ ।
सामाजिक मान्यता
भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सात रातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ । यसैताका ऋतुमती धर्तीले नवीन सिर्जना गर्न थाल्छिन् । प्रकृतिमा नयाँ-नयाँ किसिमका वनस्पति र कीरा फट्याङ्ग्राहरू देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुन: शस्यश्यामला र कञ्चन बन्छिन् ।
ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग (अर्थात् डेउडा गीत देउरा) गायनको महान् अवसर ।
भनिन्छ, पहाडका स-साना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल-सरिताका छोरासँग गरिदिने वचन पनि दिन्छन् । तर, बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ । बिचरा सोझा पहाडी खोलाहरू रातदिन विवाहको जोरजाममा खटिन्छन् । विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्न पुग्छ र ठूला घरसँग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पूरा हुँदैन ।
यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा. टिएन जोशी बताउँछन् ।
विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने बताउँदै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका जोशीले परम्परागत किम्बदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहेको बताए ।

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

प्रतिक्रिया