आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

जेठ १५ मै टुँडीखेलमा बजेट भाषण गर्न वा ग्यालरी बैठकमा पढ्न जरुरी छैन

अहिलेको संविधानले दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गर्‍यो । यसो गर्नुको तात्पर्य बजेट चाँडै कार्यान्वयन होस् भनेर होइन । जेठ १५ गते बजेट ल्याएपनि साउन १ देखि कार्यान्वयन हुने हो । 

जेठ १५ को म्याद राख्नुको कारण संसदमा पर्याप्त छलफल भएर साउन १ गतेभन्दा अघि नै बजेट पारित भएर आर्थिक वर्षको नयाँ क्यालेण्डर शुरु हुँदा (साउन १) देखि कार्यान्वयन होस् भनेर हो । यदि संसद्को दुवै सदनको बैठक बस्न सक्ने अवस्था छैन । अहिले यो अवस्था प्रधानमन्त्रीको स्वेच्छाले सिर्जना भएको अवस्था हो । त्यसो भएको हुनाले जेठ १५ गते टुँडीखेलमा भाषण गरेर वा सिंहदरबारको ग्यालरी बैठकमा पढेर बजेट ल्याउन आवश्यक छैन । 

संविधानले प्रदान गरेको जेठ १५ मा संसदका दुवै सदनमा बजेट पेस गर्नेबाहेक अर्को विकल्प भनेको धारा ११४ बमोजिमको अध्यादेश रह्यो । अध्यादेश भनेको विशेष परिस्थितिमा ल्याउने हो । धारा ११४ मा सदन सुचारु नरहेको अवस्थामा सरकारलाई तत्कालै कुनै काम गर्न आवश्यक परेमा अध्यादेश ल्याउन सकिने भनिएको छ । 
हामीकहाँ आर्थिक वर्ष २०६०–६१ देखि २०६२–६३ सम्मको बजेट ६ पटक अध्यादेशबाटै आएको थियो । अध्यादेशको म्याद ६ महिनाको मात्र हुने व्यवस्था थियो । अहिलेको संविधानमा अध्यादेशको म्याद कति हुने भन्ने ठ्याक्कै तोकेको छैन । संसदको बैठक बसेको ६० दिनभित्र पास भएन भने स्वतः खारेज हुने हो । अहिलेको प्रधानमन्त्रीको मनसाय बुझ्दा त संसदको बैठक नबसी दुई वर्ष नै सरकार चलाउने जस्तो बुझिन्छ । 

अध्यादेशबाट ल्याउँदा ‘तत्काल केही गर्न आवश्यक पर्ने’ भनेको साउन १ का लागि आवश्यक पर्ने हो । त्यो भन्दा त असार मसान्तको साँझ वा साउन १ गतेको बिहान अध्यादेशमार्फत् आउने होला । नेपालमा अभ्यास गरिएको परम्परा हेर्ने हो भने त महेश आचार्यले साउन १ गते बिहान ल्याउनुभयो । २०६०–६१ पछिका बजेट साउन १ गते अध्यादेशबाट आउने अनि पुस मसान्तमा सकिने र माघ १ गते पुनः नवीकरण गर्ने परम्परा थियो । 

 

२०४८ सालपछि हामी ९ पटक विभिन्न खालको विपद् र संकटमा परिसेकेछौं । कहिले भूकम्प, बाढीपहिरो, नाकाबन्दी, अन्तर्राष्ट्रिय वित्तीय संकट, राजनीतिक संकट भोग्नुपरेको छ । दुई पटक त संसदमा अर्थमन्त्रीलाई लछारपछार पारेर ब्रिफकेस नै तोडफोड गर्ने काम भयो र बजेट समयमा ल्याउन दिइएन । त्यो पनि अर्थतन्त्रलाई अनिश्चयमा धकेल्ने काम थियो । 

हाम्रो संविधानले स्पष्ट भाषामा के भनेको छ भने, ‘जनप्रतिनिधिलाई मात्र कर लगाउने, थप्ने, कर घटाउने र लगाएको करको उपयोग गर्ने अधिकार छ ।’ भनेपछि सार्वजनिक खर्चको निर्णय गर्ने अधिकार पनि जनप्रतिनिधिलाई छ । त्यसपछि कर लगाउने र हटाउने अधिकार पनि जनप्रतिनिधिलाई छ । 

सर्वोच्च अदालतले आफै अग्रसर भएर (सुओ मोटो) वा परेको रिटका आधारमा संसद पुनर्स्थापना गरेन भने असार मसान्त वा साउन १ गते अध्यादेश ल्याउनुपर्ने हुन्छ । त्यो ल्याउँदा करका दर घटाउन पनि पाइँदैन, बढाउन पनि पाइँदैन । त्यो घटाउनु र बढाउनु भनेको फेरि पनि संविधानको उल्लंघन हो । 

हामी अहिले यस्तो ठूलो संकटमा छौं । राजनीतिक संकट त प्रधानमन्त्रीले स्वेच्छाले निम्त्याउनुभयो, कोभिड–१९ को संकट त स्वेच्छाले निम्त्याएको होइन, भवितव्य परेको हो । कोभिड–१९ महामारीको संकट झेल्न हामीलाई थुप्रै आवश्यकता पुरा गर्नुपर्नेछ । त्यसका लागि चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च गर्न हामीलाई समस्या नै छैन । असार ३१ सम्म खर्च गर्न हामीसँग बजेट पनि छ, रकम पनि छ । नेपालमा पहिले–पहिले कहिलेकाहीं बजेट विनियोजन हुने तर रकम नहुने अवस्था पनि हुन्थ्यो । सरकारको राजस्व संकलन कमजोर हुँदा बजेट विनियोजन भएपनि सरकारको कोषमा पैसा हुँदनथ्यो । कहिले दातृ निकायले पैसा दिन्थे, तर बजेटमा कार्यक्रम हुँदनथ्यो । तर अहिले त्यस्तो अवस्था छैन । बजेट विनियोजन पनि छ, रकम पनि छ । बजेटमा विनियोजन भएकोमध्ये आधा पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म खर्च गर्न सकेको छैन । 

अब साउन १ गतेदेखि बजेटको स्वरूप कस्तो हुनुपर्ला ? पूर्वाधार विकास, आर्थिक वृद्धि लगायतका उद्देश्य हुन् कि ! भन्ने पनि छ । आर्थिक विस्तार त उद्देश्य हो तर त्यो भन्दा ठूलो उद्देश्य भनेको मानवीय जीवनको रक्षा, मानिसको खुसी र मानव सम्पत्ति (ह्युमन क्यापिटल) को निर्माण पनि हो । मानव सम्पत्तिको निर्माण गर्न पुँजीगत खर्च गरेर मात्र पुग्दैन । शिक्षा, स्वास्थ्यमा गरिने खर्च चालु खर्च नै हुन्छ । त्यसकारण चालु र पुँजीगत बजेट वा उच्च आर्थिक वृद्धिदर भन्नेतिर नलागौं । हामीले मानव जीवन रक्षा, मानव सम्पत्तिको निर्माण र एक हिसाबले रिजिलियन्ट (उत्थानशील) अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्छ । 

२०४८ सालपछि हामी ९ पटक विभिन्न खालको विपद् र संकटमा परिसेकेछौं । कहिले भूकम्प, बाढीपहिरो, नाकाबन्दी, अन्तर्राष्ट्रिय वित्तीय संकट, राजनीतिक संकट भोग्नुपरेको छ । दुई पटक त संसदमा अर्थमन्त्रीलाई लछारपछार पारेर ब्रिफकेस नै तोडफोड गर्ने काम भयो र बजेट समयमा ल्याउन दिइएन । त्यो पनि अर्थतन्त्रलाई अनिश्चयमा धकेल्ने काम थियो । 

त्यसकारण मानव जीवन रक्षा र मानव सम्पत्ति निर्माणलाई दृष्टिकोण गरेर बजेट विनियोजन अलिकति विनियोजन तलमाथि भयो भने पनि त्यो हदसम्म सह्य होला । तर अध्यादेशबाट जेठ १५ मै बजेट ल्याउनुपर्छ भन्नेमा सरकार जानु हुँदैन । न्यायिक प्रक्रिया हो यसमा म जानकार छैन । सम्भावनाको कुरा गरौं, यदि सर्वोच्च अदालतले जेठ १४ को साँझसम्म संसद् पुनर्स्थापना गर्‍यो भने १५ गते त कुनै न कुनै सरकार होला र त्यसले नियमित प्रकृतिको बजेट संसदमा पेस गर्छ । बजेटमा बहस र छलफलका लागि पर्याप्त समय छ । ४५ दिनसम्म संसदमा बहस हुन्छ । यदि संसदले त्यसलाई संशोधन गर्न चाह्यो भने संशोधन गर्न नसकिने होइन । संविधानले संसदलाई बजेट संशोधनका लागि कुनै बन्देज लगाएको छैन । परम्परागत रूपमा संसदमा सत्तारुढ दलको बहुमत हुने भएकाले सत्तारुढ दलले पेस गरेको बजेट जस्ताको तस्तै अनुमोदन हुने गरेको हो । नत्र बजेट संसदबाट संशोधन हुन सक्दैन भन्ने छैन, कुनै शास्त्रमा त्यस्तो लेखिएको छैन । 

जेठ १४ सम्ममा संसद् पुनर्स्थापना भयो भने नियमित प्रक्रियाबाट संसदमा बजेट पेस गरेर जाने र होइन भने असार मसान्त वा साउन १ गते अध्यादेशबाट बजेटको प्रक्रियामा जाँदा हुन्छ । अहिले नै अध्यादेशबाट बजेट ल्याएर प्रियतावादी (पपुलिस्ट) कार्यक्रम राख्दिएर अनि विपक्षीले सडकबाट विरोध गर्‍यो, ल्याउन पाइएन भन्ने भनाइ राख्ने बाटो प्रतिपक्षी दलहरूले पनि छोड्नु हुँदैन । अध्यादेशबाटै ल्याउने हो भने पनि संविधानमा लेखिएको भाषा ‘तत्काल केही गर्नुपर्नेमा’ भन्ने पुष्टी हुनुपर्छ । तत्काल आवश्यक परेको औचित्य पुष्टी असार मसान्त साँझ ५ बजे वा साउन १ गतेमात्र हुन्छ । 

(नेपाल कानुन समाजले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा पूर्व अर्थसचिव खनालद्वारा व्यक्त धारणा)