जुगलको अर्गानिक आलु उपत्यकामा ‘ब्रान्ड’ बनाउँदै निवर्तमान उपाध्यक्ष सृजना

काठमाडौँ– अस्पतालमा सुधारका केही लक्षण नदेखिएपछि सिकिस्तै बिरामी भएकी बहिनीलाई लिएर गाउँ लागिन् सृजना तामाङ । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका हो उनको गाउँ ।
बहिनीलाई घर लैजाँदै गर्दा जुगलको प्रवेश विन्दु बराम्चीको कात्तिकेमा उनको आँखा पुग्यो आलु बेचिरहेका महिलाहरूमाथि । उनीहरू कात्तिके बजारमा आफ्नो आलु किनिदिन स्थानीयलाई अनुरोध गरिरहेका थिए । कात्तिके बजार जुगल गाउँपालिकाकै व्यापारिक बजार हो । यो बजार सानो छ तर सुन्दर छ । गाउँपालिकाको मुकाम पनि यहीँ हो ।
हिमाली भेगमा उत्पादन भएको आलु बोकेर गाउँका महिलाहरू कात्तिके बजार झरेका थिए । उनीहरू आलु बेचेर बजारबाट चामल किनेर लैजाने गर्दछन् । आलु खरिद गर्नका लागि अनुनय गरेको देखेर उनको मनमा एक प्रकारको कौतुहलता जाग्यो आलु र उत्पादकत्वबारे । उत्पादित आलु लिएर कात्तिके बजारमा आएका दिदीबहिनीलाई उनले यसपालि कत्तिको आलु उत्पादन भएको छ भनेर प्रश्नसमेत गरिन् । जवाफमा धेरै कृषकको साझा आवाज सुनिन् सृजनाले । कृषक दिदीबहिनीले राम्रो फलेको, उत्पादन धेरै भएको तर भण्डारण गर्ने ठाउँ नभएको र कुहिने समस्या देखा पर्न लागिसकेको गुनासो गरे । अनि उनीहरूले गुनासो पोखे बजारीकरणको ।
सृजनालाई तत्काल केही गर्ने हुटहुटी जाग्यो । उनले जुगलका कृषक दिदीबहिनीलाई सहयोग गर्ने वाचा गरिन् । सोही बाचा लिएर उनी काठमाडौँ फर्किइन् । उनलाई आलुको बजारीकरण गर्ने सोच आएको थियो । जसका लागि पैसाको आवश्यकता थियो ।
सृजना २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन् । २४ वर्षकै उमेरमा गाउँपालिकाको उपाध्यक्ष बनेपछि उनको चर्चा देशभर भयो । धेरै मिडियाले लेख, टेलिभिजनले बजायो उनले उपमा पाइन् ‘देशकै कान्छी सुन्दरी उपमेयर ।’ त्यो सँगै उनको काँधको चुनौतीको भारी पर्यो ।
चुनाव प्रचारताका उनले जुगलको कुना कन्दरा सबै चाहार्ने मौका पाएकी थिइन् । जितेपछि त झनै गाउँ–गाउँ जानुपर्ने अर्काे अवसर पाइन् । त्यतिबेलै उनी छरछिमेकसँग कुराकानी गर्थिन् । ‘त्यसताका आलुका बोटहरू बारीभरी लटरम्म देखिन्थे,’ उनले सुनाइन्, ‘हिमाली भेगमा उत्पादन भएको आलु निकै मीठो हुन्छ, धेरैपटक खाना अनि खाजामा खाएका छौं ।’
‘दिदीबहिनीहरूले आलु बोकेर ल्याउने, बिक्री गर्ने अनि चामल किनेर लाने गर्नुहुन्छ,' उनले भनिन्, ‘माथि (हिमाली भेग) मा धेरै उत्पादन हुन्छ अनि त्यहाँका उपभोक्ताले मात्रै त कति लिने त ?’ लेकमा आलु धेरै उत्पादन हुने तर त्यहाँका बासिन्दाले मात्रै खपत गर्दा आलु बढी हुने गर्थे ।
कात्तिके बजारमा चलेको हुटहुटी काठमाडौँ आएर ठोक्कियो । उनको मनमा गाउँमा उत्पादन भएको अर्गानिक आलु मात्रै घुमिरह्यो । कसरी किसानलाई राहत दिने ? कसरी ती आलुलाई बजारीकरण गर्ने ?
चुनौती पैसाको थियो । उनीसँग पैसा थिएन तर साथीभाइ थिए । साथीसँग पैसा सापटी मागिन् । साथीले पैसा सापट दिए, सहयोग गरे ।
हिम्मत बढ्यो ।
उनले काभ्रेको पाँचखालबाट बोरा, सियो, धागो किनेर ल्याइन् । बोरा सिउने काम आफैँ गरिन् । अनि बोरा बोकेर गाउँ पसिन् । बोरा बोकेर गएको क्षण याद गर्दै उनले भनिन्, ‘बोरा बोकेर गएको देखेपछि गाउँलेहरूले तपाईं के कामले आउनुभएको भनेका थिए, मैले सहजै आलु लिन आएकी हुँ भनेकी थिएँ तर गाउँलेहरूले पत्याउनुभएन ।’
उपाध्यक्ष भइसकेकी उनलाई कृषकले आलु लिँदैनन् भन्ने तरिकाको कुरा गरेको याद छ । त्यसपछि उनले एक कृषक दिदीको घरबाट १० बोरा आलु लिएकी थिइन् । त्यो देखेपछि बल्ल गाउँलेहरूले उनलाई साँच्चै आलु लिने रहेछ भनेर विश्वास गरे । त्यसपछि त हाम्रोबाट पनि आलु लिनुहोस् भन्दै कृषकहरू आएको उनले सम्झिइन् ।
त्यसपछि उनले दिदीबहिनीलाई राम्रो आलु ल्याउनलाई सल्लाह दिइन् । आलु बिक्री हुने भएपछि कृषकहरूमा सबैभन्दा खुशी त्यहाँका दिदीबहिनी देखिन्थे । ‘दिदीबहिनीहरूलाई राम्रो राम्रो आलु छानेर ल्याउनुहोस् भनेकी थिएँ,' उनले भनिन्, ‘तपाईंहरू जस्तै आफन्तहरूलाई दिने हो त्यसैले कुहिएको नहाल्नुहोला, राम्रोसँग छनौट गर्नुहोस् भनेर म आफैँ उहाँहरू सँगै बसेकी थिएँ ।’ सृजनाको यो हार्दिकता देखेर कृषकहरू खुसी भएका थिए ।
आफू उपाध्यक्ष हुँदाका आफ्ना पाँच वर्ष सम्झेर त्यो बेला पनि गाउँपालिकामा कृषि उत्पादनलाई प्रोत्साहित गर्ने योजना भएको उनी बताउँछिन् ।
त्यही योजनालाई व्यवहारमा टेवा पुर्याउन सकिन्छ कि भन्ने उनलाई भान भएको थियो । टेवा पुर्याउने हुटहुटी भए पनि गाउँको उत्पादित आलुको व्यवस्थापन कसरी गर्ने, कहाँ बेच्ने, बजारीकरण कसरी गर्ने, कसले किन्ला, कतिमा बेच्ने होला भन्ने प्रश्नले सृजनालाई कति समय सोचमग्न पनि बनाएको थियो । इकागजसँग कुरा गर्दै यस विषयमा आफूले निकै जोखिम मोलेको उनले बताइन् । उनले भनिन्, ‘म त भावनामा बग्ने मान्छे हुँ, मलाई त अरुका दु:खले छोइहाल्छ ।’
बाह्रैमास बजारका अधिकांश मानिस विभिन्न केमिकल र रसायनयुक्त खानेकुरा खान बाध्य रहेको प्रसंग जोड्दै उनले गाउँकै अर्गानिक उत्पादनलाई बजार पुर्याउँदा उपभोक्तालाई फाइदा छ भन्ने लागेर जुगलको आलुलाई जसरी पनि बजारीकरण गर्ने विश्वास र आँट एक कदम अगाडि बढेको बताइन् ।
जुगलको अप्ठेरो बाटो, त्यो माथि एउटा मात्रै गाडी चल्ने, पानी परे त झन् बाटोमा पहिरो जाने समस्या । उनलाई आलु ढुवानी गर्न किनै चुनौती थियो ।
‘आलु उठाएपछिको सबैभन्दा ठूलो चुनौती अब आलुलाई बजार पुर्याउने थियो,' उनले भनिन्, ‘ बाटोमा माथिबाट पहिरोहरू आइराख्ने । खोला छ, मान्जे खोला जुन डरलाग्दो छ । त्यो खोला पार गर्न नै सबैभन्दा ठूलो चुनौती । गाडीमा नै लोड गरेर राखिराख्दा पनि कुहिएर सकिने डर, जाउँ पहिरो खोलाको डर, ओहो तीन दिन लागेको थियो ।’
सहरमा सिन्धुपाल्चोकको मुडेको आलु निकै प्रचलित छ र स्वादिलो पनि छ । जुगलको आलु बजारमा लगेर बिक्री गर्न केही समस्या पो हुने हो कि भन्ने लागेको थियो,' उनी सम्झन्छिन्, ‘सहरमा मुडेको आलु चिन्छन् । जुगलको आलु भन्ने त थाहा नै छैन धेरैलाई । त्यो चुनौतीका बाबजुद पनि मैले लिएर आएँ ।’
आलु लिएर राजधानी आइपुग्दा राति भएको थियो । घरबेटीलाई पनि थाहा थिएन । ‘जथाभावी राख्यौँ, त्रिपाल टाँग्यौँ,’ उनले भनिन् ।
अर्को बिहान सृजनाका लागि नयाँ बाटो तर्फको बिहानी थियो । उनले त्यो बिहान आफ्ना कन्ट्याक्टमा भएकालाई फोन गरिन् । सबैको सकारात्मक जवाफ पाइन् । ‘फोन गरेका मध्येमा कोहीले यस्तो छ है भनेर भन्नुभयो । विभिन्न कृषकहरूबाट लिएको हुनाले केही त पक्कै कमी होला भनेर सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढेँ,’ उनले भनिन् । पहिलो पटकमा नै सोचेभन्दा धेरै बिक्री भएपछि आँट आएकी सृजनालाई अब जुगलका किसानलाई खुशी बनाउन र सहरसम्मै ल्याईपुर्याउन सकिन्छ भन्ने दृढ विश्वास बन्यो ।
ढुवानी, बाटोको कुरा एकातर्फ छँदै छ । अरुलाई त गाह्रै थियो होला, म आफैँ त्यही गाउँको भएकोले छान्न लगाएर, फेरि लिन आउने विश्वास दिलाएर आलु काठमाडौँ लिएर आएँ ।
पहिलोपटक पाथीका हिसाबमा आलु ल्याएको तर पछि भने धार्नीकै हिसाबले आलु ल्याउने गरेको उनले बताइन् । पाँचखालबाट लिएर सिएका बोरमा ५० देखि ५२ किलोसम्म आलु अटाउँछन् ।
काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न डेलिभरी एपमार्फत् पनि आलु डेलिभरी हुने उनले बताइन् । उनले भनिन्, ‘टाढा–टाढा पुर्याउनुपर्ने हुन्छ । डेलिभरी जोड्दा महँगो पर्न जान्छ । जे होस्, एक बोरामा दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म पर्न जान्छ । विश्वास गर्नेहरू यसरी नै डेलिभरी मार्फत् मगाउनुहुन्छ । ’
अर्गानिक खानाको महत्व धेरैलाई थाहा छ त्यही भएर विदेश बस्नुहुने दाजुभाइसमेतले आफ्ना परिवारका लागि आलु पठाइदिन अनुरोध गर्ने गर्दछन् ।
जुगलको आलु खाएर हुर्केकी सिर्जनाले लगभग तीन हजार फिटको उचाइमा फल्ने आलु भएको बताइन् । आफ्नै गाउँबाट पनि दुईदेखि तीन घण्टा लाग्ने गरेको उनले बताइन् । उक्त आलु लगाएपछि सात महिनामा फल तयार हुने उनले बताइन् । यहाँ बजारको रसाउन मल हाल्न सम्भव छैन । प्राङ्गारिक मल नै हो । कतिपयले आलुको बीउ बारीमा नै छाड्ने उनले बताइन् ।
गाउँको वर्षभरिको अन्नबाली आलु भएको र राम्ररी भण्डारण गर्न सके एक वर्षसम्म केही नहुने उनले बताइन् । त्यही आलु खाएर हुर्केकी उनले गाउँमा बिहान नास्ता देखि खाना र खाजा सबैमा आलु हुने बताइन् । उनले भनिन्, ‘आलुको दाल बनाउँछन्, आलुको चना बनाउँछन् । फ्राई गरेर, उसिनेर, मःम बनाएर जे बनाएर खाए पनि हुन्छ ।’
आलुको स्वादले कहिल्यै नअघाउने त्यहाँका किसान वर्षभरि नै आलुका परिकार खान्छन् । त्यसैले पनि जुगलका किसानहरू अत्यन्तै बलियो भएको उनले बताइन् । आलु ल्याउनै तीन दिन लागेको, रातको दुई तीन बजेको कुरा जोड्दै उनले भनिन्, ‘जुगलको आलु खाएपछि अरू आलुको त स्वाद नै लाग्दैन ।’
सुनको प्रसंग जोड्दै उनले भनिन्, ‘नेपालमा सुन ल्याउनु र सिन्धुपाल्चोकको जुगलबाट आलु ल्याउनु उस्तै हो । गाह्रो छ । बाटो यता उता ।’ तीन दिन अगाडि वडा अध्यक्षले बाटो खुलाउने कुराको जानकारी दिएको उनले बताइन् ।
उनले अहिले त्यहाँबाट ल्याएको आलु भक्तपुरको गठ्ठाघरमा गोदाम बनाएर राजधानीवासीलाई हिमाली भेगको अर्गानिक आलुको स्वाद दिलाइरहेकी छिन् ।
उनको गोदाममा आलु लिन उपत्यकाका समाजसेवी, व्यापारीहरू पनि पुग्ने गर्दछन् ।

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

प्रतिक्रिया