दुई महिनापछि भोलि बस्दै बागमती प्रदेश सभा बैठक

मकवानपुर- बागमती प्रदेश सभा बैठक भोलि (सोमबार) बस्दैछ । दुई महिनाअघि असार २१ गते चालु आर्थिक वर्षका लागि बजेट पास गरेर स्थगित गरिएको बैठक भोलि बस्न लागेको हो ।
यो बीचमा विभिन्न प्राकृतिक प्रकोपका कारण धनजनको क्षति भए पनि प्रदेश सरकारले आफ्नो उपस्थिति जनतामाझ देखाउन सकेन । सरकारको जिम्मेवारी घटना भइसकेपछि राहत वितरणमा मात्रै हैन । घटना हुन अगावै पनि रोकथामका लागि पहल र प्रयास गरिनु पर्थ्यो यसमा सरकार चुकेको प्रतिपक्षी दलको आरोप छ । 'हामीले प्रदेश सभाको बैठक बसेर अत्यावश्यक निर्णय गर्नका लागि पटक पटक औपचारिक र अनौपचारिक रूपमा अनुरोध गर्यौं सुनुवाइ नभइ दुई महिना बिताइयो, यो जत्तिको गैर जिम्मेवारीपन अरु के हुनु,' एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सरकारका पूर्व मन्त्री एकालाल श्रेष्ठले भने ।
सांसदहरूले बैठक नबस्दा पनि आफूहरूले पाउने बैठक भत्ता बाहेक सबै सुविधा पाउँछन् । संघीय राजधानी वा आफ्नो गृह जिल्लामा बस्न पाउँदासम्म सांसदहरूलाई प्रदेशको राजधानी हेटौंडा बस्न ‘सकस’ नै मान्ने गरेको बुझिन्छ ।
भत्ता मात्रै ७५ लाख बढी
गत पुस १४ गते नियुक्त सांसदहरूले शपथ ग्रहण गरेपछि बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भयो । पुस महिनाको २६ गते मुख्यमन्त्रीसहित केही मन्त्रीहरू नियुक्त भए । यस बीचमा सांसदहरूलाई भत्ता मात्रै ७५ लाख बढी खर्च भइसकेको छ । सभामा प्रवक्ता मनोज गुप्ताका अनुसार बागमती प्रदेशका ११० सांसदकाे एक दिनको बैठकमा झण्डै ३ लाख रुपैयाँ खर्च आउँछ । प्रदेश सभा बैठकमा उपस्थित सांसदलाई २ हजारको दरले (तलब बाहेक) बैठक भत्ता उपलब्ध गराउने गरिएको छ । उनका अनुसार हालसम्मको बैठक सम्पन्न गर्दा तलब बाहेक सांसदहरूको खातामा ७५ लाखभन्दा बढी भत्ता मात्रै गएको छ ।
दुई पटकसम्म सरकार गठन भएको बागमतीमा हाल (भदौ १७ गते) सम्म २६ दिनमा ४६ वटा प्रदेश सभा बैठक भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यो अवधिमा ६ वटा विधेयक पारित भएका छन् ।
भोलि १८ भदौ सोमबार अपराह्न १ः३० बजे बस्ने गरी प्रदेश सभाको आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा पेस गरिने सम्भावित कार्यसूची तयारीका लागि प्रदेश सभा सचिवालयले सोमबार नै विहान साढे ११ बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक समेत आह्वान गरेको छ ।
प्रदेश सभा बैठकमा सहभागी हुन प्रदेश सभाका सबै सांसदहरूलाई सूचना पठाइसकेको बताइएको छ । लामो समयदेखि बैठक बस्न नसक्दा सरकारकै आलोचना हुन थालेपछि बागमती प्रदेश सरकारको ६ भदौको बैठकले प्रदेश सभाको बैठक १८ भदौमा बोलाउने निर्णय गरेको थियो । प्रदेश सरकारले प्रदेश सभाका लागि पर्याप्त विजनेशन नहुँदा बैठक बस्न नसकेको बताउँदै आएको थियो ।
यसै बीच प्रदेश सभामा तीन वटा विधेयक दर्ता भएका छन् । प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको हो । लामो समयसम्म विजनेशनविहीन भएको प्रदेश सभामा ऐन संशोधनका लागि र नयाँ विधेयक दर्ता गराएको हो । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।
गत वर्ष असोजमा ल्याइएको प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएकोमा उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय भएको थियो ।
प्रदेश सभालाई लयमा लानका लागि मिनि संसदका रूपमा रहेको संसदीय समितिलाई अझै पूर्णता दिन नसक्दा प्रतिपक्षी दल दरिलो भूमिकामा उभिन सकेको छैन । अघिल्लो कार्यकालकै शैलीमा ५ वटा समितिलाई निरन्तरता दिन लागिएसँगै समितिका सदस्यहरू चयन गरिएका छन् । तर, समितिको सभापति चयन नहुँदा सरकारमा रहेका दलको मात्रै ढलीमली भइरहेको एमाले बागमतीका सचेतक मधूसुदन पौडेलले बताए । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । जसमध्ये हाल कांग्रेस, माओवादी र एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया