शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

शनिबार रातिको घटनाबारे मेयर बालेनको प्रष्टीकरण, गैरजिम्मेवार अभिव्यक्तिबारे भने मौन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बोलेन्द्र शाह 'बालेन' ले हिजो शनिबार राति घटेको घटनाबारे स्पष्टीकरण दिएका छन् । आइतबार सचिवालयले एक वक्तव्य जारी गर्दै बालेनपत्नी सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएको हो । 

प्रेस विज्ञप्तिमा काफ्लेमाथि ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको बताइएको छ । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको सचिवालयले दाबी छ । 

सचिवालयले सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाउन चाहिने परमिट लिएको भए पनि ट्राफिकले रोक्दा परमिट आफूसँग नभएको भने स्वीकारेको छ । 

‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए । सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो ।’

प्रहरीले सामान्य मानवीय संवेदनशीलतासमेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको सचिवालयको भनाइ छ । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट असभ्य व्यवहार भएको भन्दै उक्त कार्यको विज्ञप्तिमा निन्दा गरिएको छ । 

‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ ।’

गृह प्रशासनले यस विषयमा सुनियोजित तरिकाले सञ्चार माध्यमलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेको सचिवालयको भनाइ छ । विज्ञप्तिमा गलत आचरण भएका केही प्रहरीमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाई राख्न सरकार र ट्राफिक प्रहरीलाई आग्रह गरिएको छ ।

बालेनले उक्त घटनापछि अबदेखि महानगरपालिकाका कुनै पनि गाडीलाई रोके सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । शाहको यो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ । मेयर जस्तो जिम्मेवार र गरिमामयी पदमा आसीन व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहँदा यस विषयमा विज्ञप्तिमा केही भनिएको छैन । 

यता ट्राफिक प्रहरीले भने गाडीलाई एक मिनेटभन्दा बढी नरोकिएको जिकिर गरेको छ । साथै, प्रहरीले काफ्लेमाथि सामान्य सोधपुछ मात्र गरिएको र कुनै प्रकारको दुर्व्यवहार नगरिएको पनि उल्लेख गरेको छ ।

विज्ञप्ति: