शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

‘हदबन्दी घोषणा भइसकेको गिरीबन्धु टि स्टेटको ५०० बिगाहा जग्गा सट्टापट्टा गरिने कानुन ल्याउनु गलत’

काठमाडौँ– नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले नेपालमा भ्रष्टाचार सर्वत्र व्याप्त भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा गिरीबन्धु टि स्टेट जग्गाको उदाहरण दिँदै सांसद केसीले त्यस्तो बताएका हुन् । 

सांसद केसीले भने, ‘भ्रष्टाचार दुई प्रकारले हुन्छ । एउटा विद्यमान ऐन कानुनलाई अपचलन गरेर अर्को भने कानुन नै त्यस्तै बनाएर ।’

उनले नगदे बाली चिया उत्पादन हुने गिरीबन्धु टि स्टेटको जग्गामा सट्टापट्टा गर्न विगतको सरकारले कानुन ल्याएको बताएका हुन् ।

साथै, सांसद केसीले अर्बौँ लगानीमा बनेको गोकर्ण रिसोर्टलाई पाँच वर्ष समय बाँकी हुँदै विगतको सरकारले यति होल्डिङलाई कौडीको मोलमा दिएको उदाहरण दिँदै त्यसको उचित छानबिनको माग समेत गरेका छन् ।