कोभिडविरुद्ध बनेको एन्टिबडी मन्छेको शरीरमा कति समयसम्म बस्छ ?

कोभिड-१९ विरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ । अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो ।
शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ । अर्को छुट्टै अध्ययनमा अरू कोभिडका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड-१९ हुन नदिएको देखियो । सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई 'उत्साहवर्धक समाचार' भनेकी छन् ।
उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन 'छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त' हुने अनुसन्धाताहरूले बताएका छन् । अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो । तीमध्ये ११,००० जनामा कोभिड-१९ को एन्टिबडी भेटिएको थिएन ।
भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ । ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन् । अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो । स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो ।
तर कोभिडविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन । परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड-१९ भएको पाइयो । उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन । तर ती तीन जना पनि बिरामी भएनन् ।
रुघाबाट टी-सेल
उक्त अध्ययनका अनुसार 'सार्स-कोभ-२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी' परिणाममा एकरूपता देखियो । यो अनुसन्धानमा कोभिड-१९ गराउने कोभिडको 'स्पाईक प्रोटीन' विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो ।
कोभिडको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ । अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो । यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी-सेल नामक विशेष कोषको अध्ययन गरेको थियो ।
अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी-सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोभिड भए पत्ता लगाउने गरेको देखिएको थियो । तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड-१९ भएको पुष्टि भएको थियो ।
उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड-१९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोभिडको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ । पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी-सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड-१९ भएन । (बीबीसी)

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया