बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

बागमती प्रदेशकाे प्रथम अधिवेशनकाे तयारीमा एमाले

मकवानपुर- नेकपा एमालेले बागमती प्रदेशकाे प्रथम अधिवेशनकाे तयारी थालेको छ । आगामी असाेज ८ र ९ गते काठमाडाैँमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि तयारी थालिएको हो ।

यसैबीच पार्टीलाई बलियाे बनाउनका लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्ने नेकपा एमाले केन्द्रीय पाेलिटब्युराे सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले बताएका छन् । नेकपा एमाले मकवानपुरकाे १० औँ जिल्ला कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नेलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियाे बनाउनु पर्ने बताए । 

उनले पार्टीसँग सम्बन्धित कामकाे जिम्मेवारी सहमति र समझदारीका साथ लिनका लागि बैठकमा निर्देशन दिए । जनविराेधी शक्तिहरूकाे घेराबन्दीकाे बीचमा राष्ट्र र जनताकाे पक्षकाे दृढतापूर्वक उभिएकाे एउटा मात्र पार्टी एमाले भएकाले एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेकाे र पहिलाे पार्टी बनाउने सारथि बन्न पर्नेमा उनले जाेड दिए ।

आगामी असाेज ८ र ९ गते काठमाडौँमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि जिल्लामा रहेकाे ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट १ सय २५ बराबर १ जना, मजदुर, पेसागत र उत्पीडित क्षेत्रबाट ५० जना बराबर १ जनाकाे व्यवस्था भएकाे र करिब १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले जानकारी दिए । पालिकाकाे १०, मजदुर र पेसागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रकाे प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनाैट केन्द्र रहने छ ।

भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनाैट हुनेसमेत सचिव सिग्देलले बताए । पार्टी मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्याैपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्याैपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटी सदस्यहरूकाे  उपस्थिति रहेकाे थियाे ।