यातनाको कोइलामा पाकेर हिरा भएको इराकी फुटबल

काठमाडौँ : फिफा वरियता हेर्ने हो भने इराक एसिया महादेशकै बलिया टिममध्येको एक हो । एसियाली वरियतामा इराक सातौं स्थानमा छ । एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता एसियन कपमा इराकको प्रदर्शन सन्तोषजनक रहँदै आएको छ । पछिल्ला सात संस्करणमा इराक चार पटक क्वार्टरफाइनल पुगेको छ । झन् २००७ मा त च्याम्पियन नै बन्यो ।
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसियन कपको पछिल्लो संस्करणमा भने इराक अन्तिम १६ बाटै बाहिरियो । २०१५ मा इराक एसियन कपको फाइनल नजिक पुगेको थियो । तर सेमिफाइनलमा युएईसँग ३-२ ले पराजय भोगेपछि दोस्रो पटक एसियन कपको फाइनल पुग्ने इराकको सपना पूरा भएन ।
सन् १९८० को दशकमा इराकी फुटबल चरम उत्कर्षमा थियो । सन् १९८२ को एसियाडमा इराकले पुरुषतर्फको फुटबलमा स्वर्ण जित्यो । त्यसको चार वर्षपछि मेक्सिको विश्वकपका लागि छनौट हुँदै इराकले आफू एसियाली फुटबलको बलियो शक्ति रहेको सन्देश दियो । त्यसपछि भने इराक विश्वकपमा छनौट हुन सकेको छैन ।
इराकमा सन् १९७९ देखि २००३ सम्म सद्दाम हुसेनको शासनमा रह्यो । उनै सद्दामका पुत्र उदय सन् १९८४ बाट इराकी ओलम्पिक कमिटी र इराकी फुटबल संघको अध्यक्ष बने । त्यहाँबाट इराकी फुटबल ओरोला लागेको मानिन्छ । उदय इराकी फुटबलमा धेरै चासो राख्थे । अनि हस्तक्षेप पनि गर्थे ।
हाल इराकी ओलम्पिक कमिटीमा रहेका तालिब मुल्तान उदयमाथि गम्भीर आरोप लगाउँछन् । मुल्तानका अनुसार उदय इराकी फुटबलरलाई राम्रो प्रदर्शन गर्न धम्काउँथे । ‘उदय सधैँ नतिजा हेर्थे । अन्तराष्ट्रिय प्रतियोगितामा सन्तोषजनक प्रदर्शन नगरे फुटबलरलाई मात्र होइन अन्य खेलाडीमाथि हातपात गर्थे । यातना दिन्थे,’ मुल्तानले हालै गोल डटकमसँग भनेका छन् ।
कतिसम्म भने इराकी खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा पेनाल्टी हान्न समेत डराउँथे । पेनाल्टीमा गोल गर्न नसके सजाय पाउने डर उनीहरूमा हुन्थ्यो । सन् १९९९ को अरब गेम्सको फाइनलमा इराक र जोर्डन भिड्दै थिए । इराक चार गोलले पछि परेको अवस्था थियो । तर इराकले अन्तिम २३ मिनेटमा चारै गोल फर्काएपछि खेल पेनाल्टीमा धकेलियो । पेनाल्टी हान्न तीन जना खेलाडी मात्रै तयार भए । पेनाल्टीमा भाग नलिए पुरै टिमले यातना भोग्नु पर्ने भएपछि पाँच जना खेलाडी तयार भए । तर इराकले ३-१ ले खेल हार्यो । तीन इराकी खेलाडी पेनाल्टीमा चुके । तीमध्येका एक थिए, अब्बास रहिम जायर ।
‘धेरै जसो खेलाडी बल छुन पनि तयार भएनन् । पेनाल्टीमा भाग नलिँदा खेल गुमाइन्थ्यो । त्यस्तो अवस्थामा सबैजना यातना सहन तयार हुनु पर्ने थियो । जसोतसो पाँच खेलाडी पेनाल्टी हान्न तयार भए,’ सन् २०१२ मा सवारी दुर्घटनामा मारिएका जायरले गार्डियनसँग भनेका छन् । इराक फर्किएपछि जायरलाई बन्धक बनाइयो, यातना दिइयो र तीन साताका लागि करागार चलान गरियो ।
कतिपय इराकी फुटबलर टिम बसमा यात्रा गर्नुपूर्व सिरानी बोकर आउँथे । ताकि बसमा यात्रा गरुन्जेल निन्द्रा पुर्याउन पाइयोस । किनभने खेल हारेपछि वा प्रतियोगिताबाट बाहिरिएपछि खेलाडीलाई जेल पठाइन्थ्यो, जहाँ सुत्न पाइने सम्भावना शून्यप्राय हुन्थ्यो । खेलाडीहरूलाई अल रदवानिया नाम गरेको जेल पठाइन्थ्यो । अल रदवानियालाई इराककै सबैभन्दा खतरनाक जेल मानिन्थ्यो । ‘राष्ट्रिय टिममा पर्ने जो सुकै खेलाडीले कुनै न कुनै दिन अल रदवानिया जानै पर्थ्यो । त्यसका लागि सबै मानसिकरुपमा तयार रहन्थे,’ पूर्व इराकी फुटबलर तारिक अब्दुल अमिरले इराकी फुटबल वेबसाइट इराक फुटबल डटकमसँग भनेका छन् ।
सद्दाम पुत्र उदय यतिसम्मका त्रुर थिए की, इराकी फुटबल टिम मुख्य अन्तराष्ट्रिय प्रतियोगितामा छनौट नभए, सबै खेलाडीलाई सिमेन्ट कंक्रिटको बलले अभ्यास गर्न आदेश दिन्थे । कतिपय खेलाडीको कपाल मुन्डन गराइन्थ्यो । ‘टिममा सबैभन्दा खराब प्रदर्शन गर्नेको सूची बनाउँथे, उदय । त्यस्तो सूचीमा परेपछि सजाय निश्चित थियो । त्यस्तो दबाबमा खेल्दा हाम्रो खेल कहिले पनि राम्रो हुँदैन थियो,’ इराकका पूर्व कप्तान हबिब जफरले भनेका छन् ।
उदयले इराकी खेलाडीमाथि गरेको ज्याजतीका विषयमा अन्तराष्ट्रिय स्तरमा कुरा उठ्थ्यो । तर फिफाले इराकी फुटबल संघमाथि कारबाही गर्न पर्याप्त प्रमाण जुटाउनै नसक्ने अवस्था थियो । किनभने कोही खेलाडी पनि उदयका विषयमा बोल्न तयार हुने अवस्था थिएन ।
सद्दामको शासन हटेसँगै इराकी खेलाडी भयमुक्त भए । तर अमेरिकी आक्रमणपछि सुरु भएको हिंसाका कारण इराकमा आधिकारिक अन्तराष्ट्रिय फुटबल खेल आयोजना गर्न सम्भव भएन । उसो त फिफाले सन् १९९० देखि नै इराकमा आधिकारिक अन्तराष्ट्रिय फुटबल खेल आयोजना गर्न बन्देज लगाएको थियो । इराकले छिमेकी कुवेतमाथि आक्रमण गरेपछि फिफाले इराकमाथि त्यस किसिमको बन्देज लगाएको थियो । फिफाको प्रतिबन्ध अमेरिकी आक्रमण पछि तन्कियो ।
सन् २०१८ मा भने फिफाले बन्देज हटायो । फिफाले इराकलाई तीन शहरमा अन्तराष्ट्रिय खेल खेल खेलाउन अनुमति दिएको छ । ती सहर बासरा, कारबाला र इरबिल हुन् । फिफाको बन्देज हटेपछि सन् २०१९ मा इराकले ‘वेस्ट एसिया फुटबल फेडेरेसन (डब्लुएएफएफ) च्याम्पियनसिप’ आयोजना गर्यो । जुन लगभग तीन दशकपछि इराकमा आयोजना गरिएको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो ।
त्यसयता इराकले आफ्नै भूमिमा कयौँ खेल खेलेको छ । प्राय खेल इराकको दोस्रो ठूलो सहर बासरास्थित बासरा अन्तराष्ट्रिय रंगशालामा भएका छन् । त्यही रंगशालामा मैत्रीपूर्ण खेल खेल्न नेपाल इराक पुगेको छ । नेपाली टोली बुधबार नै बासरा पुगिसकेको छ । शनिबार हुने यस खेललाई दुवै टिमले विश्वकप २०२२ को छनौटका लागि तयारी खेलका रुपमा लिएका छन् ।
इराकसँगको खेल नेपालका नयाँ प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीका लागि पहिलो परीक्षा हुनेछ । विश्वकप छनौटको समूह बीमा रहेको नेपालले पाँच खेलबाट जम्मा तीन अंक बनाएको छ । आउँदो साफ कप जित्ने लक्ष्यका साथ युवा टिम बनाउने प्रयासमा रहेका अल्मुताइरीले इराकविरुद्धको खेललाई खेलाडी ‘टेस्ट’ गर्ने मौकाका रूपमा लिएका छन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया