ओलीले गरे देउवालाई सत्ता सहयात्राको आग्रह, मागे जति दिन ओली तयार

काठमाडौं : सत्तारुढ दल नेकपाको विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार दिउँसो करिब डेढ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली र देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए । देउवा पार्टी केन्द्रीय सदस्य रमेश लेखकसहित प्रधानमन्त्रीलाई भेट्न दिउँसो तीन बजे बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा नियुक्तिका विषयमा उनीहरूबीच कुरा मिल्न सकेन । पटक-पटक भएको छलफलमा पनि कुरा नमिलेपछि विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा पदाधिकारी कसरी नियुक्तिको सिफारिस गर्ने भन्ने विषयमा सहमति जुटाउन सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्त गरी ४८ पद रिक्त छ । अधिकांस विश्वविद्यालय उपकुलपतिलगायत पदाधिकारीविहिन छन् ।
नियुक्तिका विषयमा कुराकानी गर्न भनेर बोलाए पनि प्रधानमन्त्री र देउवाबीच सत्ता सहयात्राका विषयमा पनि कुराकानी भएको स्रोतहरु बताउँछन् । बालुवाटर स्रोतका अनुसार सत्तारुढ दल नेकपा फुटको संघारमा रहेको र फुटेमा सत्ता सहयात्राका लागि ओलीले देउवालाई आग्रह गरेका छन् । त्यति मात्र होइन सत्ता सहयात्राका लागि के के चाहिने हो त्यो दिन आफू तयार रहेकाले सहयोग गर्न पनि ओलीले देउवालाई आग्रह गरेको स्रोतले बतायो ।
‘कांग्रेसलाई इंगेज बनाएर, नियुक्तिहरुमा अल्झाएर पछि पार्टी फुट्ने अवस्था आएमा सत्ताको सहयात्री बनाउन ओलीले चाहेका छन् । त्यसै विषयमा सभापतिज्यू र सिंगो कांग्रेसको मन बुझ्न संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न बोलाइएको भेटवार्तामा भएका कुराकानी सुन्दा देखियो,’ कांग्रेस स्रोतले भन्यो, ‘नेपाली कांग्रेस त्यस्तो ललिपपमा भुल्न हुँदैन । यसमा सभापति देउवा जानिफकार नै हुनुहुन्छ ।’ देउवा र ओलीबीच झण्डै आधा घण्टा छुट्टै छलफल भएको थियो ।
यता प्रधानमन्त्रीको सचिवालय स्रोतले संवैधानिक नियुक्तिका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग प्रधानमन्त्रीले भेटेको र समसामयीक राजनीतिका विषयमा अनौपचारिक कुराकानी भएको जनाएको छ । नेकपामा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले गठजोड बनाएका बेला ओलीले देउवासँग सत्ता सहयात्राका लागि सहयोग माग्नुले नेकपामा गम्भीर संकटमा रहेको देखिएको छ ।
भेटमा देउवासँगै केन्द्रीय सदस्य लेखक थिए भने प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो । कांग्रेसका तर्फबाट संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सहभागी भएको बताइएपनि श्रेष्ठले इकागजसँग आफू उपत्यकाबाहिर रहेको बताए । ‘म बिहीबारदेखि गृहजिल्ला स्याङजामा छु । म होइन सभापतिसँग अरु साथी जानु भएको होला, उतै काठमाडौंमा बुझ्नुस’ श्रेष्ठले इकागजसँग भने ।
ओलीले देउवासँग संवैधनिक नियुक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, दुई नेताबीच भागवण्डामा कुरा मिल्न सकेको छैन । यसअघि देउवासँग शुक्रबार साँझ नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटेका थिए । क्वात्राले भेटेको भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानमन्त्रीबीच लामो छलफल हुनुलाई राजनीतिमा केही खिचडी पाक्न लागेको त होइन भन्ने अर्थमा बुझ्न सकिने विश्लेषकहरू बताउँछन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया