चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

बागमती - हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि सो अदालतबाट म्याद थप गरिएको जानकारी दिइएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताइन् ।
घटना विवरणअनुसार गत साउन २५ गते डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए ।
सञ्चो अस्पतालमा उपचार गराइरहेका डेङ्गु सङ्क्रमित राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारणले निजका आफन्तले चिकित्समाथि आक्रमण गरेका थिए ।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज हेटौँडामा रहेका सरकारी, निजी तथा क्लिनिकका चिकित्सकले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा विडारी हेटौँडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन् ।
यसैबीच कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै हेटौँडा अस्पतालका ७८ चिकित्सकले सामूहिकरूपमा सो अस्पतालका सुपरिटेन्डेन्ट डा रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामासमेत दिएको डा न्यौपानेले बताए । रासस

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया