शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सिरहाको नापी कार्यालयका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहको नामी कार्यालयमा करारमा कार्यरत अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार आयोगले अमिन यादवले जग्गा धनीपूर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

आयोगले अमिन यादवलाई जग्गा धनीपूर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिएको अवस्थामा भदौ ५ गते नियन्त्रणमा लिएको थियो ।  यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाणपूर्जासमेत बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए । 

आयोगले अदालत समक्ष आरोपी यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगो जरिमाना गर्न माग गरेको छ ।