बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

‘प्रतिनिधि सभा प्रभावकारी ढंगले सञ्‍चालन गर्न सकिएन’

काठमाडौँ : सभामुख अग्‍निप्रसाद सापकोटाले आफूले प्रतिनिधि सभा प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको स्वीकारेका छन् । आज आफूले गरेको ‘प्रतिनिधि सभा विघटनका सन्दर्भमा कानुन व्यवसायीहरूसँगको छलफलको समाधान गर्दा उनले त्यती प्रभावकारी बनाउन नसकेको स्वीकारेका हुन् । उनले अबका दिनमा प्रभावकारी ढंगले चलाउने प्रतिबद्धतासमेत जनाएका छन् । 

छलफलमा कानुन व्यवसायीहरूले संसद् सही ढंगले सञ्‍चालन गर्न नसकिएको र सुधार्नुपर्ने पक्ष धेरै रहेका बताएका थिए । त्यसको जवाफ दिने क्रममा उनले अब सकेसम्म प्रभावकारी ढंगले चलाउने बताएका हुन् । ‘छलफलका क्रममा धेरै आदरनीय व्यक्तित्वहरूले संसद् सञ्‍चालन प्रभावकारी नभएको बताउनु भयो,’ उनले भने, ‘अब हामी गम्भीर भएर प्रभावकारी बनाउने प्रयास गर्ने र आएका सुझावलाई आत्मसाथ गर्नतर्फ लाग्‍ने छौं ।’

आफूले राष्टिय हितलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको उनले बताए । संविधानको रक्षा, लोकतन्त्रको सुदृढिकरणलाई ध्यानमा राखेर अहिलेसम्म काम गरिरहेको र आगामी दिनमा पनि त्यसैगर्ने प्रतिबद्धता उनको थियो । 

आफू विशेषगरी संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार चल्नुपर्ने भन्दै त्यसमा नचुकेको उनले दाबीसमेत गरे । ‘परिस्थीतिको ठोस विश्लेषण गर्दै अगाडि बढ्नुपर्छ । देश र जनताको अधिकतम हितमा काम गर्ने हो । संविधान र जनता तथा राष्ट्रको हित अनुसारको काम गर्न तयार छु,’ सभामुख सापकोटाले भने । 

मंगलबार पूर्वसभामुखहरूसँग छलफल गरेका सभामुख सापकोटाले आज वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका हुन् । यसपछि राजनीतिक दलहरूसँग छलफल गर्ने उनले बताए । ‘अब छलफल राजनीतिक दलहरूसँग गर्ने हो । दलहरू लोकतन्त्रका सम्वाहक मात्रै नभएर ‘पावर हाउस’ पनि हुन हुन्,’ सापकोटाले भने । 

अब बहसलाई निरन्तरता दिने बताएका उनले दलहरूसँग पनि नागरिक अगुवा र मानव अधिकारवादीहरूसँग पनि छलफल गर्ने बताए ।